काठमाडौँ — नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गी ले नेपाली चलचित्र इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ। लक्ष्मीपूजाको अवसरमा कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले दुई सातामै रु २७ करोडको व्यापार गर्दै नेपालमा सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको हो। निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा यो ठूलो सफलता प्राप्त गरेको जानकारी दिनुभयो।

निर्माता पौडेलले भन्नुभयो, “हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको माया र समर्थनले हामी निकै हर्षित छौँ। यस चलचित्रले विदेशी चलचित्रसँग डराउनुपर्ने परिपाटीलाई अन्त्य गर्दै नेपाली दर्शकलाई गुणस्तरीय नेपाली चलचित्रको माया गर्न प्रोत्साहन गरेको छ।”
प्रदर्शनको शुरुदेखि नै दर्शकको अत्यधिक चाप देखिएपछि निर्माण समूहले मोफसल भ्रमण सुरु गरेको छ। निर्माता पौडेलका अनुसार आजबाट पूर्वी नेपालको गाईघाटबाट भ्रमणको शुरुवात हुनेछ, जसमा चलचित्र निर्माण टोलीले ग्रामीण भेगका विभिन्न चलचित्र भवनमा पुगेर त्यहाँका दर्शकलाई प्रत्यक्ष धन्यवाद व्यक्त गर्ने योजना बनाएको छ। “हामी गाईघाटबाट भ्रमण सुरु गर्दैछौँ र ग्रामीण भेगका दर्शकलाई धन्यवाद दिनेछौँ। उहाँहरूको मायाले हामी मात्र नभई नयाँ निर्माता तथा कलाकारलाई पनि उत्साह मिलेको छ,” निर्माता पौडेलले भन्नुभयो।
यो भ्रमणमा निर्माता पौडेलसँगै चलचित्रका अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली पनि सहभागी हुनुहुनेछ। यस भ्रमणको माध्यमबाट चलचित्र टोलीले दर्शकसँगको अन्तरक्रिया र नयाँ नेपाली चलचित्रहरूको प्रवर्द्धनलाई पनि सघाउने आशा गरेको छ।
पूर्णबहादुरको सारङ्गी ले एकै दिनमा रु तीन करोड ८९ लाखको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ। चलचित्रले देशभरका ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी शो पाएको रेकर्ड समेत राखेको छ, जुन नेपाली चलचित्र उद्योगको लागि ठूलो उपलब्धि हो। यसअघि कबड्डी ४: द फाइनल म्याच ले रु २३ करोड ५० लाखको व्यापार गर्दै सर्वाधिक कमाइ गर्ने चलचित्रको स्थान ओगटेको थियो, तर अब यो स्थान पूर्णबहादुरको सारङ्गी ले लिएको छ।
चलचित्रको सफलताले नेपाली चलचित्र उद्योगमा मौलिक कथा र गाउँघरको परिवेशमा आधारित चलचित्रहरूलाई दर्शकले विशेष प्राथमिकता दिने गरेको पुष्टि गरेको छ। पूर्णबहादुरको सारङ्गी ले नेपाली चलचित्रलाई नयाँ उचाइमा पुर्याउँदै घरेलु चलचित्र उद्योगको भविष्यलाई उज्यालो बनाउने संकेत दिएको छ।