कृषि पेसाबाट आत्मनिर्भर: छोराछोरीलाई इञ्जिनियरिङ र कृषि पढाउन सफल रामलाल रायको प्रेरणादायी कथा

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका-६ निवासी ४३ वर्षीय किसान रामलाल रायले आफ्नो परिश्रम र कृषि पेशाको आम्दानीले छोराछोरीको उच्च शिक्षा सुनिश्चित गर्न सफल भएका छन्। रायका एक छोरा काठमाडौँमा इञ्जिनियरिङ पढिरहेका छन् भने छोरी कृषि प्लान्टसम्बन्धी प्राविधिक विषय अध्ययन गर्दै लोकसेवाको तयारीमा छिन्।

युवावस्थामा विदेश जाने सोच राखेका रायले साथीहरूबाट विदेशको कठिन जीवनका अनुभव सुनेपछि आफ्नै भूमिमा श्रम गर्ने निर्णय गरे। यस निर्णयले उनको जीवनलाई मात्र होइन, उनको परिवारलाई पनि नयाँ दिशा दिएको छ।

वार्षिक पाँच लाखभन्दा बढी आम्दानी

रायले धान, गहुँ, मकै, आलु, तरकारीलगायत नगदे बाली खेती गर्दै वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। “तरकारी खेतीले घर खर्च धानेर छोराछोरी पढाउन सकिन्छ,” उनले भने।

उनले पाँच कठ्ठा जग्गामा तरकारी, अढाइ विघामा धान, गहुँ, तोरी, आलु तथा अन्य नगदे बाली उत्पादन गर्दै आएका छन्। उनले विशेषतः तरकारी खेतीलाई आयको मुख्य स्रोत बनाएका छन्।

तालिम र प्राविधिक सहयोगको महत्त्व

रामलाल रायले कृषि ज्ञान केन्द्र मलंगवाले प्रदान गरेका तालिम, अनुदान, बीउ, मलखाद र सिँचाइसम्बन्धी प्राविधिक सहयोगले आफूलाई खेतीमा ठूलो मद्दत पुगेको बताए। “डिप बोरिङका लागि पूर्ण अनुदान पाउँदा सुख्खायाममा सिँचाइको समस्या हल भएको छ,” उनले भने।

किसानका चुनौती र गुनासा

धानको मूल्य कम पाएको र बिचौलियाका कारण अन्याय भएकोमा रायले गुनासो गरे। “बजारको सुविधा नहुँदा धान टाढा बेच्न लैजान समस्या हुन्छ,” उनले भने।

उनले गाउँपालिकालाई धान बिक्रीका लागि बजार सहजीकरण गर्न अपिल गरे। “गाउँपालिकाले किसानका समस्यामा ध्यान दिनुपर्छ,” रायले भने।

कृषिमा सरकारको भूमिका

कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द राय यादवले किसानका लागि अनुदान र प्राविधिक सहयोगमार्फत कृषि क्षेत्रमा आत्मनिर्भरता बढाउने प्रयास भइरहेको बताए। “कृषि विकास विना समृद्धि सम्भव छैन,” यादवले भने।

सिँचाइ, बीउ, मलखाद, र बजारीकरणमा राज्यको लगानीले किसानहरूलाई प्रेरणा दिएको उनको भनाइ छ।

कृषिमा युवापुस्ताको आकर्षण आवश्यक

रामलाल रायको कथा कृषिमा मेहनत, धैर्य र सहि प्राविधिक उपयोगले सफलता प्राप्त गर्न सकिने उदाहरण हो। उनले युवापुस्तालाई कृषितर्फ आकर्षित गर्न विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याए।

रायको जीवन कथा नेपालको ग्रामीण अर्थतन्त्र र कृषि क्षेत्रमा प्रेरणादायी उदाहरण बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us