राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं,’ मूल नारासहित राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

यातायात र ढुवानीका लागि रेल तथा सडक संजालको निर्माण र विकासमा जोड दिने र ग्रामीण क्षेत्रमा उद्योगधन्दाको विकास गर्ने घोषणापत्रमा उल्लेख छ । यसैगरी सबैको समान विकासका लागि पीछडिएका समुदाय र दुर्गम क्षेत्रको विकास गर्ने बताइएको छ । पर्यटन विकासका लागि ग्रामीण पर्यटनको विकासमा जोड दिने एवं पर्यावरण र पूरातात्विक क्षेत्रको संरक्षण गर्न विशेष योजना बनाउने भनिएको छ । प्रदूषण नियन्त्रण, स्रोत साधनको न्यायपूर्ण वितरण, सामाजिक सुरक्षा, पुर्नस्थापना लगायतलाई घोषणापत्रमा समेटिएको छ ।
यस्तै स्रोत संरक्षण तथा प्रवर्द्धनमा जोड दिने एवं कृषि एवं कृषिजन्य उद्योगको विकासका लागि प्रयत्न गर्ने घोषणापत्रमा उल्लेख छ । शिक्षा र स्वास्थ्यमा आम सर्वसाधारणको पहुँच पुर्‍याउन सामाजिक विकासमा अधिकतम बजेट विनियोजन गर्ने एवं बीचमा पढाइ छोड्ने विद्यार्थीका लागि विशेष योजना बनाएर लागू गर्ने बताइएको छ ।

घोषणापत्रमा स्थानीय तहमा रहेको बेरुजु न्युनिकरण गर्दै स्वशासनमा जोड दिने तथा भ्रष्टाचारको रोकथाम गर्ने उल्लेख गरिएको छ । गाउँको विकासका लागि छुट्टै ग्रामीण विकास मन्त्रालयको गठन गर्ने बताइएको छ । इन्धन आपूर्तिको वैकल्पिक व्यवस्था गर्ने, स्वदेशी उत्पादनलाई संरक्षण गरी विदेशी आयातमाथि नियन्त्रण गर्ने बताउँदै दक्ष जनशक्ति निर्माण गरी बेरोजगारी अन्त्य गर्न योजना तर्जुमा गर्ने बताइएको छ ।

घोषणापत्रमा गणतन्त्र बलियो बनाउनका लागि प्रदेश खारेज गरी स्थानीय तहलाई बलियो बनाउन आफ्नो शक्ति केन्द्रित हुने राष्ट्रिय जनमोर्चाले दाबी गरेको छ । त्यसका लागि विकेन्द्रित र सन्तुलित विकास नीतिसहित २८ बुंदे घोषणापत्र जारी गरेको छ । चुनावमा अन्य दलसँग एकता गरेर गए पनि आफ्नो चुनावी एजेण्डालाई आफ्ना उमेदवारले कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us