काठमाडौं, मंसिर २७, २०८१ — ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको छ।
साधारण सभामा बैंकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा र पुँजी समायोजन कोषबाट शेयरधनीहरूलाई ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई सभाले अनुमोदन गरेको छ। साथै, बोनस शेयर वितरणपछि हुने पूँजी वृद्धिको हदसम्म प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा बैंकले १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ।
अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए। साथै, नयाँ व्यवसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे।
ग्लोबल आइएमई बैंकले “ग्लोबल फाइनान्स”को “बेष्ट बैंक अवार्ड २०२४” र “युरो मनी अवार्ड फर एक्सलेन्स २०२४” अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मान प्राप्त गरेको छ। बैंकले अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट समेत विशेष सम्मान प्राप्त गरेको छ।
देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा, ग्लोबल आइएमई बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ।
बैंकको १८औं वार्षिक साधारण सभाको मुख्य अंशहरू