काठमाडौँ। सर्वनाम थियटरले विजय मल्लद्वारा लिखित नाटक ‘पत्थरको कथा’ मञ्चन गर्ने भएको छ। यो नाटक शुक्रबार (पौष ५) र शनिबार (पौष ६) सर्वनाम थिएटर, कालिकास्थानमा मञ्चन हुनेछ।
शोषक र शोषितको कथा प्रस्तुत गर्ने यो नाटकको परिकल्पना र निर्देशन सन्तोष पोखरेल र स्वीकृति मिश्रले गरेका हुन्। आध्यात्मिक चिन्तनमा आधारित यो एकाङ्की नाटकले नेपाली समाज र राजनैतिक परिवेशलाई स्वैरकाल्पनिक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।
‘पत्थरको कथा’ २००७ सालको जनक्रान्तिपछि नेपाली समाजले लिएको रूप र त्यतिबेलाको राजनैतिक असन्तोषको चित्रण हो। नाटकले सामाजिक र राजनैतिक विषयवस्तुलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने उद्देश्य राखेको छ।
नाटकमा मदन श्रेष्ठ, श्रीजा खनाल, पूजा कुमारी शाह, सुसन उप्रेती, र सोम नेपाली लगायतका कलाकारको अभिनय रहनेछ।
मञ्चन तालिका
- पौष ५ (शुक्रबार): दिउँसो १ बजे र ४ बजे
- पौष ६ (शनिबार): दिउँसो १ बजे र ४ बजे
कलाकारिता र निर्देशनमा लागेका सन्तोष पोखरेलका लागि यो नाटक विशेष छ। आफ्नो सपनालाई साकार बनाउने क्रममा पोखरेलले भने, “सानैदेखि मञ्चमा केही कार्यक्रम गर्न मन पराउँथे। कक्षा ६ देखि सुरु भएको मेरो यो रुचि आजसम्म निरन्तर छ। यस पटक भने एउटा नाटक बनाउने सपना देखें र आँट गरे।”
सर्वनाम थिएटरले सबैलाई नाटक हेर्नका लागि निम्तो दिएको छ।
कालिकास्थानमा आउनुहोस्, पत्थरको कथामा नेपाली समाजको कथा खोजौं!