मदानेमा प्रथम कंकेदेउराली महोत्सव सुरु

गुल्मी। गुल्मी जिल्लाको मदाने गाउँपालिकामा अवस्थित कंके देउरालीमा प्रथम कंकेदेउराली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने महोत्सवको आज औपचारिक उद्घाटन भएको हो।
मदाने गाउँपालिकाको आयोजनामा तथा कंकेदेउराली पर्यटन पूर्वाधार विकास समितिको सहआयोजनामा महोत्सव सञ्चालन भइरहेको छ। गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरका अनुसार, महोत्सवमा कृषि उत्पादन र पर्यटनलाई प्राथमिकता दिइएको छ।

महोत्सवमा स्थानीय कृषकहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी राखिएको छ। यसले कृषकहरूको प्रोत्साहन र उत्पादकत्व अभिवृद्धिमा मद्दत गर्ने विश्वास गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले कंके देउरालीलाई पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउन बजेटसमेत छुट्याइएको बताइन्।

उपाध्यक्ष खड्काका अनुसार, जिल्लाका ऐतिहासिक र पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन र स्थानीय कृषि उत्पादनको प्रचार महोत्सवको मुख्य उद्देश्य हो। महोत्सव अवधिमा ‘मदाने तारा’ नामक विद्यालय स्तरको प्रतिभा खोज अभियान पनि सञ्चालन हुनेछ। महोत्सवमा स्थानीय कलाकारहरूको प्रस्तुति विशेष आकर्षणको रुपमा रहनेछ।

कंके देउरालीको धार्मिक र पर्यटकीय विशेषता

गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहमा रहेको कंके देउराली ९ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यहाँको प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई आकर्षित गर्ने मात्र होइन, यस स्थानसँग धार्मिक विश्वासहरू पनि गहिरो रूपमा गाँसिएका छन्।
स्थानीयहरूको भनाइअनुसार, मन्दिर नजिक रहेको बोटमा उफारेर चढाइएका घण्टीहरू बोटमै अडिने अद्भुत दृश्य यहाँ पाइन्छ। साथै, गाईको दूध धार दिने तथा मन्दिरमा भाकल गरेपछि मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।

कंके देउराली क्षेत्रमा विभिन्न जडीबुटीहरू पाइन्छन्। यसमा सेतो बरुवा, टिमुर, बोझो, निमपत्ता, आकाशवेली, र सुगन्ध कोकील मुख्य छन्। वनस्पतिका रूपमा लालीगुराँस, सेतो गुराँस, रक्तचन्दन, कटुस, र विभिन्न प्रकारका धुपीसल्लाका रूखहरू देख्न सकिन्छ।

संरचना विकास र प्रचार-प्रसारको आवश्यकता

अहिले कंके देउरालीमा पुग्न सडक निर्माण, मन्दिर स्तरोन्नति, र आकर्षक सिँढी निर्माणका कामहरू सम्पन्न भएका छन्। तर, पर्यटक आकर्षणका लागि अझै पर्याप्त संरचना विकास र प्रचार-प्रसारको खाँचो रहेको स्थानीयहरूको भनाइ छ।
कंके देउराली पर्यटनको नयाँ सम्भावना बोकेको क्षेत्र भए पनि अपेक्षाअनुसार पर्यटकहरूको आगमन हुन सकेको छैन। महोत्सवले यस क्षेत्रको पर्यटन विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ।

महोत्सव अवधिमा कृषि, पर्यटन, र सांस्कृतिक प्रस्तुतिहरूको माध्यमबाट कंके देउरालीको विविधता उजागर हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us