भोजपुरमा जिप दुर्घटना, एकजनाको मृत्यु, तीन गम्भीर घाइते

भोजपुर, पुस ११ । भोजपुर जिल्लाको बोखिममा आज बिहान भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनालाई गम्भीर अवस्थामा थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

दुर्घटना भोजपुर नगरपालिका–५, बोखिममा बिहान करिब १० बजे प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप अनियन्त्रित भएर भएको हो। जिप भोजपुरबाट टेम्कैमैयुङ गाउँपालिकाको चखेवातर्फ जाँदै थियो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार उपचारका क्रममा झापाको गौरादह नगरपालिका–७ का ६६ वर्षीय झम्कबहादुर घलेको मृत्यु भएको हो। घाइते अन्य १० जनामध्ये भोजपुर नगरपालिका–५ की लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरी धरान उपमहानगरपालिका–२ का इयाहाराना सुब्बालाई हेलिकोप्टरमार्फत काठमाडौँको केएमसी अस्पताल पठाइएको छ।

जिपमा सवार अन्य घाइतेहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ। प्रहरी निरीक्षक श्रेष्ठले दिएको जानकारीअनुसार दुर्घटनामा परी घाइते हुनेहरूमा झापाकी ५८ वर्षीया देवीकला घले, इलामका ४२ वर्षीय नविनकुमार राई र उनका ३१ महिनाका छोरा निगेल राई, भोजपुर बोखिमकी ३५ वर्षीया लाक्पादिकी शेर्पा, ४० वर्षीया जुनुका राई, ४१ वर्षीय राजकुमार राई, चालक ४० वर्षीय सुदिप लिम्बु, धरानकी ३८ वर्षीया इयाहाराना सुब्बा र इलामकी ३३ वर्षीया मेनुका घले रहेका छन्।

घटनाको कारणबारे अनुसन्धान भइरहेको र प्रारम्भिक रूपमा जिप ब्रेक फेल भएको आशंका गरिएको छ। यात्रुको सुरक्षाका लागि जिपहरूको अवस्था समयमै जाँच गरिनुपर्ने स्थानीयले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us