भारतको उदय र डा. मनमोहन सिंहको योगदान

भारतको आर्थिक इतिहासमा सन् १९९१ को दशक अत्यन्तै महत्त्वपूर्ण छ। १९७० को दशकदेखि सुरु भएको लाइसेन्स राज र समाजवादी आर्थिक प्रणालीले भारतको अर्थतन्त्रलाई अत्यन्त कमजोर बनाएको थियो। सन् १९९१ मा विदेशी मुद्राको सञ्चिति केवल एक अर्ब २० करोड अमेरिकी डलरमा झरेको थियो, जसले तीन साताको आयात पनि धान्न नसक्ने अवस्था थियो। यो संकटको समाधानका लागि भारतले आफ्नो रिर्जभ बैंकमा रहेको सुन धितो राखेर बेलायत र जापानबाट ४० करोड डलर ऋण लियो।

आर्थिक सुधारका सूत्रधार

यो आर्थिक संकट समाधान गर्ने जिम्मेवारी प्रधानमन्त्री पीभी नरसिंह राव र अर्थमन्त्रीका रूपमा चयन गरिएका डा. मनमोहन सिंह को काँधमा थियो। डा. सिंहले भारतको अर्थतन्त्रलाई समाजवादबाट उदारवादी अर्थव्यवस्थातर्फ रूपान्तरण गरे। उनका सुधारहरूलाई सन् १९९१ को बजेटका रूपमा चिनिन्छ।

सुधारका मुख्य कदम:

  1. निजीकरणलाई प्राथमिकता दिँदै सरकारी नियन्त्रण घटाउने।
  2. आयात निर्यात नीतिहरूलाई उदार बनाउँदै विदेशी लगानीको मार्ग खुला गर्ने।
  3. मूल्य नियन्त्रण हटाउँदै प्रतिस्पर्धात्मक बजार व्यवस्थाको विकास।
  4. कर प्रणालीमा सुधार गर्दै उद्योग र व्यापारको प्रोत्साहन।

यी सुधारहरूले भारतको अर्थतन्त्रलाई तीव्र गतिमा अघि बढाउन मद्दत गर्‍यो। आज भारत संसारकै पाँचौं ठूलो अर्थतन्त्र बन्न सफल भएको छ, जसको श्रेय डा. सिंहलाई दिइन्छ। उनलाई भारतको अर्थतन्त्रको “आर्किटेक्ट” मानिन्छ।

नेपालसँग डा. सिंहको सम्बन्ध

डा. सिंहले नेपालसँगको सम्बन्धलाई सधैं प्राथमिकतामा राखे। सन् २०६२-६३ को जनआन्दोलनका क्रममा भारत सरकारको सहयोग र समर्थन सुनिश्चित गराउन उनले सकारात्मक भूमिका खेले। गिरिजाप्रसाद कोइराला भारत भ्रमण जाँदा, डा. सिंह आफैं विमानस्थलमा स्वागत गर्न पुगेका थिए। यो उनले नेपालको नेतृत्वप्रति देखाएको सम्मानको प्रतीक हो।

डा. सिंहले नेपालका लागि प्रबुद्ध समूह (ईपीजी) मार्फत १९५० को सन्धि, खुला सीमा, र सीमा विवाद जस्ता मुद्दाहरू समाधान गर्ने प्रयासमा सहयोग गरे।

डा. सिंहको जीवनशैली र योगदान

डा. सिंह आफ्नो सरल जीवनशैलीका लागि चिनिन्थे। प्रधानमन्त्री हुँदा पनि उनी महँगो गाडीभन्दा सस्तो मारुती ८०० गाडीमा यात्रा गर्न रुचाउँथे। उनले शासनकालमा पारदर्शिता ल्याउन “सूचनाको हक” कानुन लागु गरे र ग्रामीण रोजगार ग्यारेन्टी योजना जस्ता जनमुखी कार्यक्रम सञ्चालन गरे।

डा. मनमोहन सिंह केवल भारतकै अर्थतन्त्रका आर्किटेक्ट होइनन्; उनी एक उदार, परिपक्व र दूरदर्शी नेता थिए। भारत र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाउन उनले खेलेको भूमिका इतिहासमा सधैं स्मरणीय रहनेछ।

उनको निधनले भारत मात्र होइन, नेपालले पनि एक असल मित्र गुमाएको छ। डा. सिंहको योगदान सधैं प्रेरणादायक रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us