काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। उहाँको आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा निधन भएको कार्टर फाउन्डेसनले पुष्टि गरेको छ। निधनका बेला पारिवारिक सदस्यहरूको जमघट भइरहेको थियो।
राष्ट्रपति जो बाइडेनले शोक वक्तव्य जारी गर्दै जिमी कार्टरलाई आफ्ना प्रिय साथी तथा असाधारण नेता भनेर स्मरण गरेका छन्। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्टरलाई अमेरिकाका असाधारण नेताको रूपमा सम्झिने बताएका छन्।
सन् १९७७ देखि १९८१ सम्म राष्ट्रपति रहेका कार्टर १०० वर्ष बाँच्ने अमेरिकाका पहिलो राष्ट्रपति हुन्। राजनीतिमा प्रवेश गर्नु अघि उनी एक सामान्य किसान र अमेरिकी जल सेनाका लेफ्टिनेन्ट थिए। उनको राजनीतिक जीवन, विशेषगरी मानव अधिकार र शान्ति स्थापनामा केन्द्रित थियो।
जिमी कार्टरलाई सन् २००२ मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो। उनको शान्ति स्थापनाका लागि विश्वभर योगदान रहेको छ। नेपालको शान्ति प्रक्रियामा समेत उनको भूमिका उल्लेखनीय मानिन्छ।
गत वर्ष उनलाई छालाको क्यान्सर भएको थियो, जसले कलेजो र मस्तिष्कमा समेत प्रभाव पारेको थियो। त्यसपछि उनी निवासमै आराम गरिरहेका थिए।
उनको निधनभन्दा केही महिना अघि, सन् २०२३ को नोभेम्बरमा उनकी श्रीमती रोसलिन कार्टरको ९६ वर्षको उमेरमा निधन भएको थियो। यो जोडीले ७५ वर्ष एकसाथ बिताउँदै अमेरिकी इतिहासमा सबैभन्दा लामो समयको वैवाहिक जीवनको कीर्तिमान राखेका थिए।
बिल क्लिन्टन, कमला ह्यारिस, बाराक ओबामा, र बेलायती राजा चाल्र्सलगायतका प्रमुख नेताहरूले उनको निधनप्रति शोक व्यक्त गरेका छन्। उपराष्ट्रपति ह्यारिसले भनेकी छन्, “अमेरिका आज संसारकै सबैभन्दा राम्रो स्थान हुनुमा कार्टरको योगदान अविस्मरणीय छ।”
#जिमीकार्टर #JimmyCarter #अमेरिकीइतिहास