१५ वर्षमै जुम्ल्याहा बच्चा जन्माउने दिपाको संघर्षपूर्ण जीवन

बैतडी, पुस २१ — बैतडी जिल्लाको पाटन नगरपालिका-९ किचारकी १५ वर्षीया दिपा लावडले जुम्ल्याहा छोरालाई जन्म दिएर सुदूरपश्चिममा चर्चा कमाएकी छन्। १४ वर्षकै उमेरमा बालविवाह गरेकी दिपाले डडेल्धुरा अस्पतालमा दुई स्वस्थ बच्चालाई जन्म दिएकी हुन्। यो घटनाले बालविवाह र त्यसले निम्त्याउने चुनौतीबारे चर्चा गरिरहेको छ।

दिपाका श्रीमान् १८ वर्षका छन् र उनी अहिले नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रियामा छन्। बच्चाहरूको पालनपोषण गर्ने चुनौती दिपाको काँधमा छ, जबकि उनी आफैं पढ्ने र खेल्ने उमेरमा छिन्।

आर्थिक अवस्था नाजुक

दिपाको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको पाटन नगरपालिका-९ मा कार्यरत सामुदायिक मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्टले बताइन्। परिवारको दयनीय अवस्थालाई मध्यनजर गर्दै समाजसेवी सहदेव प्रशाद सापकोटाले न्यानो लुगा, खाद्यान्न सामग्री र नगद १० हजार रुपैयाँ सहयोग गरेका छन्।

संगम पब्लिकेशनका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाले यसअघि पनि सुदूरपश्चिमका थुप्रै परिवारलाई सहयोग गरेका थिए। सापकोटाको नेतृत्वमा लक्ष्मी बिष्ट, वडा नं ८ का मनोसामाजिक कार्यकर्ता भुवि बिष्ट, र जिल्ला अस्पताल बैतडीको एकद्धार संकट व्यवस्थापन केन्द्रकी माया भट्टको टोलीले शनिबार दिपाको घरमै पुगेर सहयोग हस्तान्तरण गरे।

बालविवाह र त्यसका चुनौती

बालविवाहको कारणले दिपाको जीवनमा आएको चुनौती सुदूरपश्चिमका अन्य परिवारको लागि पनि चेतना जगाउने पाठ बनेको छ। बालविवाहले शिक्षाबाट बञ्चित बालबालिकाहरूको भविष्य कसरी अन्योलमा पर्छ भन्ने उदाहरण दिपाको जीवनले देखाएको छ।

दिपा लावड र उनको परिवारलाई थप सहयोगको आवश्यकता रहेको छ। स्थानिय तहले पनि यस्तो अवस्थामा हस्तक्षेप गरेर बालबालिकाको शिक्षामा जोड दिनुपर्ने आवश्यकता समाजसेवीहरू बताउँछन्।

भविष्यको आशा

दिपाको जीवन अहिले संघर्षपूर्ण देखिए पनि समाज र विभिन्न संघसंस्थाबाट निरन्तर सहयोग भएमा उनी र उनका बच्चाहरूको जीवन केही सहज बन्ने आशा गरिएको छ। बालविवाह अन्त्य र बालअधिकारको सुनिश्चितताका लागि सबैले मिलेर प्रयास गर्नुपर्ने आवश्यकता झन् गहिरो बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us