हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यो परियोजनाको कुल लागत ११ करोड ७४ लाख रुपैयाँ रहेको छ।
प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाका अनुसार, यो क्रिकेट मैदानमा ६ हजार दर्शक क्षमताको प्याराफिट, पाँच वटा पिच, ७० मिटर रेडियसको मैदान, स्कोर बोर्ड, भीभीआईपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायतका संरचना निर्माण हुनेछन्।
क्रिकेट मैदान निर्माणका लागि २०८० चैत २० गते एसएनएस पिएल एचकेसी जेभीले ९ करोड ४२ लाख ८२ हजार रुपैयाँमा ठेक्का लिएको थियो। हाल मैदान सम्याउने काम भइरहेको छ, जसमा भूमिगत ढलमार्फत पानी निकासका लागि पाइप बिछ्याउने, विभिन्न तहमा ग्राभेल र माटो बिछ्याउने कार्य समावेश छन्। मैदानको माथिल्लो सतहमा बर्मुण्डा दुबो रोपिनेछ।
गत आइतबार नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट मैदानको स्थलगत अवलोकन गरे। उनले प्रदेश सरकारले क्रिकेट पूर्वाधार निर्माणमा गरेको लगानी सकारात्मक रहेको र निर्माण कार्य तीव्र गतिमा भइरहेकोले छिट्टै राष्ट्रियस्तरका खेलहरू आयोजना गर्न सकिने बताए।
गौरीटार रंगशाला बागमती प्रदेशको राजधानी हेटौँडामा निर्माणाधीन दोस्रो ठूलो रंगशाला हो, जसमा फुटबल मैदान, पौडी पोखरी, एथलेटिक्स ट्र्याक लगायत २१ वटा खेल संरचना निर्माण हुनेछन् ।