कञ्चनपुर, पुस २६ – शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि पुनः खुला गरिएको छ। गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकलाई लक्षित गर्दै जङ्गल सफारीको सुविधा सञ्चालनमा ल्याएको हो।
गत असारमा आएको बाढीले पर्यटक पथमा क्षति पुर्याएपछि मर्मतका लागि समय लागेकाले यस वर्ष निकुञ्ज खुला गर्न ढिलाइ भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए।
“यस पटक अन्य वर्षभन्दा ढिलो गरी जङ्गल सफारी खुला गरेका छौँ,” उनले भने, “निकुञ्जभित्रका पुल र बाटोलाई बाढीले क्षति गरेकाले पुनःनिर्माण र मर्मतमा धेरै समय लागेको हो।” उनका अनुसार अहिले पनि सहायक बाटोहरूमा ग्राभेललगायतका काम बाँकी रहेका छन्।
विशेषता र महत्व
तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रसिद्ध छ। यहाँ दुई हजारभन्दा बढी बाह्रसिङ्गाको झुण्ड देख्न पाइन्छ। त्यस्तै, पाटेबाघका लागि पनि यो निकुञ्ज प्रख्यात छ। पछिल्लो गणनाअनुसार यहाँ बाघको सङ्ख्या ४४ पुगेको छ।
निकुञ्ज गैँडालगायत दुर्लभ वन्यजन्तुका लागि पनि प्रसिद्ध छ। दुर्लभ वनस्पतिहरू, १२ प्रजातिका घस्रने जनावर, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, र चार सय ४९ प्रजातिका चरा यहाँ पाइन्छन्।
दुर्लभ जनावर र चराहरूको ठेगाना
निकुञ्जमा विश्वमै दुर्लभ मानिएका सारस, खरमजुर, सिम तित्रा, राजधेश, र लेसर भुडीफोरजस्ता चरा पाइन्छन्। साथै, ५३ भन्दा बढी प्रजातिका स्तनधारी जनावरहरू छन्। यसमा पाटेबाघ, एकसिङ्गे गैँडा, बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा, चितल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेल आदि प्रमुख छन्।
पर्यटन प्रवर्द्धनमा जोड
निकुञ्ज कार्यालयले पर्यटन प्रवर्द्धनका लागि विशेष योजनाहरू अघि बढाएको संरक्षण अधिकृत ऐरले बताए।
निकुञ्जले गरेको पछिल्लो तथ्याङ्कअनुसार, गत आर्थिक वर्षमा यहाँ तीन हजार ६७ पर्यटकले भ्रमण गरेका थिए। तीमध्ये विदेशी पर्यटक मात्र दुई सय ५० जना थिए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पर्यटन र जैविक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ। पर्यटकहरूको आगमनले क्षेत्रको विकासमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।