
काठमाडौं, पुस २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी रहेका लामिछाने हाल जिल्ला अदालतमा थुनछेक बहसमा छन्।
गत बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछानेलाई धरौटी तिरेर अदालतमा हाजिर हुने सर्तमा छुट दिइएको थियो। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसहित अन्य सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
लामिछानेले ६५ लाख रुपैयाँ धरौटी तिरेर आज काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन्। अदालतमा हाल थुनछेक बहस जारी रहेको छ।