चीन फिल्म दिवस सम्पन्न : फिल्ममार्फत नेपाल-चिन सम्बन्धलाई प्रगाढ बनाउन मद्दत मिल्ने विश्वास

काठमाडौं । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा काठमाडौंमा एक दिवसीय चीन फिल्म दिवस आयोजना गरिएको छ।
पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा नेपाली फिल्म र साहित्यसँग सम्बन्धित व्यक्तित्वको साथमा चिनियाँ फिल्ममेकर र कलाकार सहभागी थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बर्षमान पुनले नेपालमा पहिलो पटक आयोजित चीन फिल्म दिवसले दुई देशका फिल्ममार्फत सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिल्ने विश्वास व्यक्त गरे।

आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम केवल फिल्म हेर्ने मात्र नभई दुई देशबीचको सम्बन्धको लागि शुरूवाती प्रवेशद्वार रहेको चर्चा गरे। चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले हालका बर्षमा चीन फिल्मका लागि विश्वको ठूलो बजार भैसकेको र नेपालमा समेत चिनियाँ फिल्मको छायांकन भएको चर्चा गरे।

‘अघिल्लो वर्ष नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालमा २०२५ मा चिनियाँ फिल्म फेस्टिभल गर्ने सम्झौता भएको थियो। यस वर्ष चीन र नेपालबीचको कुटनीतिक सम्बन्ध ६० बर्षको हो र यस वर्ष नेपाल पर्यटन वर्ष पनि हो। दुई देश बीच उत्सव श्रृंखलाको रूपमा यस कार्यक्रमले दुई देशका फिल्म निर्माताबीचको सहयोग आदान प्रदानका लागि प्लेटफर्म प्रदान गर्नेछ’ उनको भनाइ थियो।

दिवसमा सहभागिताको लागि १४ सदस्यीय टोलीको नेतृत्व गर्दै चाइना फिल्म एडमिनिस्ट्रेसन अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङसहित चर्चित फिल्म जी फर ग्यापकी अभिनेत्री तथा दुईपटक गोल्डेन स्टार अवार्ड जितेकी यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसन बजार विभागका उपनिर्देशक झेङ झेङ, टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ, फिल्म पर्सनल पर्सिसटेन्सका निर्देशक जिङ जिआओ, लाइफ अफ लुओसाङका पटकथा लेखक लु वेइ र निर्देशक झाङ गुदोङ, फिल्म मिडसमर भोइसका निर्देशक झाङ युडीलगायतको टोली कार्यक्रममा सरिक भएको थियो।

क्यूएफएक्स सिनेमा, छायाँ सेन्टरमा आयोजित कार्यक्रममा ३ चिनियाँ फिल्महरू यीहुई साओ निर्देशित हर स्टोरी, युडी झाङ निर्देशित मिडसमर्स भ्वाइस र फेई लङ निर्देशित जी फर ग्याप प्रदर्शन गरिएको थियो। कार्यक्रम चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us