नेपाल भेप तस्करीको ट्रान्जिट बन्दै, माथिल्लो तहसम्मकै जालो खोजिँदै

काठमाडौं । पछिल्लो समयमा तस्करहरूले विद्युतीय चुरोट (भेप) को तस्करीलाई व्यापक बनाउन थालेका छन्। तस्करहरूले नेपाललाई भेप तस्करीको ट्रान्जिट बनाउन थालेका छन्।

राजस्व अनुसन्धान विभागले पछिल्लो समयमा ठूलो मात्रामा भेपको बरामद गरिएको जनाएको छ। विभाग र प्रहरीको संयुक्त प्रयासमा उपत्यकाका विभिन्न स्थान तथा अन्य बाहिरी जिल्लामा पनि राजस्व छलेर नेपाल भित्र्याइएका विद्युतीय चुरोट ठूलो मात्रामा बरामद भएको हो।

विभागका अनुसार गत दुई साताभित्र करिब १ लाख २० हजार थान भेप बरामद भएको छ। चीनबाट मुख्यतयाः रसुवागढी र तातोपानी नाकामार्फत भेप आयात हुँदै आएको थियो। तर, यसपटक भने कोरला नाकाको पनि प्रयोग भएको विभागले जनाएको छ।

विभागले ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलको एक गोदामबाट एक साता अघिमात्र ८६ हजार थान भेप बरामद गरेको थियो । यसै गरी प्रहरीको विशेष सहयोमा विभागले मुस्ताङबाट ९५ कार्टुनमा १९ हजार थान भेप बरामद गरेको थियो। पथलैयाबाट १५ हजार र बुटवलबाट ४ हजार थान भेप बरामद गरिएको विभागले जनाएको छ।

यसै गरी भेप तस्करीमा संलग्न २ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखिएको छ। भेप तस्करीमा माथिल्लो तहसम्मको संलग्नता रहेको हुन सक्ने आशंकामा विभागले थप अनुसन्धान गरिरहेको जनाएको छ। अहिले पनि विभिन्न स्थानमा भेप तस्करी गरी भारततर्फ पठाउने गरिएको अनुमान विभागका अनुसन्धान अधिकारीहरूले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us