मौलिक बाजा संरक्षणका लागि गण्डकीका धुनहरु प्रस्तुत

काठमाडौं । गण्डकी प्रदेशभित्र रहेका मौलिक बाजाको संरक्षणका लागि पोखरामा गण्डकीका धुनहरू कार्यक्रम आयोजना गरिएको छ।
गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार संघको संयुुक्त आयोजनामा प्रदेशभित्र रहेका कला संस्कृतिको संरक्षणका लागि गण्डकीका धुनहरू कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक धुनलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री थापाले गण्डकी प्रदेशको सांगीतिक सम्पदाको महत्व र यसलाई संरक्षण गर्ने आवश्यकतामा जोड दिँदै प्रदेशका मौलिक बाजाको जगेर्ना र नयाँ पुस्तामा हस्तान्तरणलाई प्राथमिकतामा राखिने बताए। पञ्चे बाजा, सारंगी, बाँसुरी, धिमे, सनई, टुङ्ना, मादल, खींलगायतका मौलिक बाजाहरू एकै मञ्चमा प्रस्तुत भएको देख्न पाउँदा खुशी लागेको उनले बताए।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यक्रमको महत्वलाई रेखांकित गर्दै गण्डकीको सांस्कृतिक धरोहर जगेर्ना गर्न यस्ता कार्यक्रमले खेल्ने भूमिकाको प्रशंसा गरे। गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले अग्रज स्रष्टालाई सम्मान र नयाँ पुस्तालाई मौलिक बाजाप्रतिको आकर्षण बढाउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको जानकारी गराए।

कार्यक्रममा काठमाडौं र गण्डकीका ४० भन्दा बढी वाद्यवादकले नेपाली मौलिक बाजाको माध्यमबाट सांगीतिक धुन प्रस्तुत गरे। संगीत संयोजक तथा निर्देशक प्राज्ञ अशोक राईले पोखरामा पहिलोपटक अर्केस्ट्राको स्वरूप प्रदर्शन गरिएको जानकारी गराए। उक्त अभियानले गण्डकीका धुनलाई प्राथमिकतामा राखेर सांगीतिक पहिचानलाई बलियो बनाउने प्रयास भएको भनाई उनको छ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनीतिकर्मी, प्रदेश सरकारका सचिवहरू, कलाकार, साहित्यकार, पत्रकारलगायत सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us