काठमाडाैं । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण शुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा डाकिएका २५ खेलाडी मध्ये २३ खेलाडी अभ्यासमा उपस्थित हुँदा कप्तान किरण चेम्जोङ विदेशमा र देबेन्द्र तामाङ पारिवारिक कारणले उपस्थित भएनन् ।
अभ्यास थालनी भए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले भने जुन लक्ष्यका साथ तयारी गरिएको हो, त्यो नेपाली टोलीका लागि कठिन भएको बताएका छन् । नेपाली टोलीले दशरथ रंगशालामा जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी थालेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अल्मुताईरीले सपना ठुलो देखेपनि वास्तविकतामा भन्दा नेपाली फुटबलको स्तर धेरै तल रहेको भन्दै यही प्रयासले छनोट हुन नसक्ने बताए । तर प्रशिक्षक अल्मुताईरीले छनोटमा राम्रो गर्ने प्रयास गर्ने बताए ।
सधैँ जसो अभ्यास थालिनी गर्नु अघि पत्रकार सम्मेलनमा सहभागि हुने गरेका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी शुक्रबार पनि उही भेषमा उपस्थित भए । यस अघि आफ्नो सामाजिक सञ्जालबाट नेपाली फुटबलको बारेमा स्टास लेखेका अलमुताइरीले शुक्रबारको पत्रकार सम्मलेनमा पनि उस्तै अभिव्यक्ति दिए ।
पहिलो दिनको अभ्यास पछि पत्रकार सम्मेलनमा उत्रिएका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नेपाली टोली जुन लक्ष्यका साथ तयारी गरिरहेको छ, सो लक्ष्यमा पुग्न निकै कठिन हुने बताएका हुन् ।