काठमाडौँ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने मूल नाराका साथ आज देशव्यापी रुपमा विविध कार्यकमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाईदै छ ।
विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको हो ।
विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ ।
त्यति मात्रै होइन, केही दिन अघि तिब्बतमा केन्द्रविन्दु भएको भूकम्पले काठमाडौँलगायतका क्षेत्रको जमिन हल्लाउँदा त्यसले नौ वर्षअघिको भूकम्पको सम्झना दिलाएको थियो ।
भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।
भूकम्पको जोखिम न्यूनीकरणका लागि व्यापक प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गर्न सबै सरोकार निकायदेखि सञ्चार क्षेत्रको भूमिका समेत महत्वपूर्ण रहेको छ ।