काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्ने भएका छन् ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठनका अध्यक्ष सुवेदी एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारीमा जान लागेका हुन् । उनीसँगै महासंघमा निर्वाचित केही पदाधिकारी तथा सदस्यहरु सहितको टोलि प्रवेश गर्ने तयारी रहेको बताईएको छ ।
एमाले महासचिव शंकर पोखरेलले उनलाई आज पार्टीमा प्रवेश गराउने तयारी गरेका छन् । यसकालागि बागबजारको एउटा होटलमा कार्यक्रमको आयोजना गरिएको एमालेले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीका पूर्व प्रचार विभाग सदस्य समेत रहेका सुवेदीलाई पार्टीको प्रतिष्ठामाथि आँच आउनेगरी समाचार लेखेका कारण बिहीबार मात्र स्पष्टीकरण सोधिएको थियो ।
पार्टीको बिरुद्ध पहिलेदेखी गतिविधि गरिरहेका उनिसंग पत्रकार महासंघको चुनावका क्रममा आफ्नो संगठनलाई छोडेर चौतारीलाई फाईदा हुनेगरी देशभरी सर्कुलर गर्ने , महासंघ केन्द्र र उपत्यकामा संगठनलाई शून्य बनाउन लागिपरेका कारण सुवेदीसँग पार्टी नेतृत्व असन्तुष्ट रहदै आएको थियो ।
राजनीतिक पार्टीको भातृ संगठनमा रहेर आफ्नै पार्टी नेतृत्व बिरुद्द निरन्तर लागीरहेका उनलाई नेकपा एकीकृत समाजवादीले स्पस्टिकरण सोधेको २४ घण्टा नबित्दै नेकपा एमालेले आफ्नो पार्टीमा स्वागत गर्न लागेको हो ।