गुल्मी — रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा पूर्ण रूपमा बन्द भएको छ। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि सेवा अवरुद्ध भएको हो। निगमका स्टेसन प्रमुख सुमन थापाका अनुसार जहाजहरूको इन्जिन साइकल समाप्त भएकाले मर्मत कार्य जारी छ, जसले सेवा पुनः सुचारु हुन केही समय लाग्ने जनाइएको छ।
नेपाल वायु सेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक उडान सुरु गरेको थियो। प्रारम्भमा सातामा तीन पटकसम्म उडान हुने विमानस्थलमा यात्रुको माग बढेसँगै उडान सङ्ख्या चार पटकसम्म पुर्याइएको थियो। तर, समय समयमा जहाज ग्राउन्डेड हुन थालेपछि उडान सङ्ख्या घट्दै अहिले पूर्ण रूपमा बन्द भएको छ।
रेसुङ्गा विमानस्थलबाट निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुङ्गाबाट ७ः३० बजे उडान भर्दै आएको थियो। काठमाडौँका लागि रु ७,५०० र रेसुङ्गाबाट काठमाडौँका लागि रु ७,३०० भाडादर तोकिएको थियो। दिउँसोको समयमा हावाको चाप उच्च हुने भएकाले बिहानमात्र उडान हुने व्यवस्था थियो।
२१ महिनाको अवधिमा विमानस्थलबाट एकतर्फी रूपमा ९० वटा उडान भइसकेका छन्। हालसम्म २,२५३ यात्रुले सेवा लिएका थिए। हवाई सेवा सुरु भएसँगै गुल्मीमा आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या समेत उल्लेख्य रूपमा बढ्दै गएको थियो।
विमानस्थल बन्द हुँदा यात्रुहरूले काठमाडौँ आवतजावतका लागि वैकल्पिक मार्ग अपनाउनुपर्ने बाध्यता छ। निगममा जहाजको अभाव र नियमित मर्मत कार्य हुन नसक्दा जिल्लाको हवाई सेवामा निरन्तरता दिन कठिनाइ भइरहेको छ। यात्रुको चाप उच्च हुँदाहुँदै पनि सेवा सञ्चालनमा समस्याले पर्यटन प्रवर्द्धनमा समेत असर पर्न सक्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।
सम्बन्धित पक्षले तत्काल समस्या समाधान गरी सेवा सुचारु गर्नुपर्ने माग बढिरहेको छ।