मुम्बई — बलिउडका चर्चित अभिनेता अर्जुन कपूर सुटिङ सेटमा भएको गम्भीर दुर्घटनामा परेका छन्। मुम्बईस्थित रोयल पाम्सको इम्पेरियल प्यालेसमा फिल्म ‘मेरे हसब्यान्ड की बीवी’ को छायांकनका क्रममा अचानक सेटको छत खस्दा अर्जुन कपूरसहित निर्देशक मुदस्सर अजिज र अन्य पाँच जना गम्भीर घाइते भएका छन्।
फिल्मको गीत छायांकन भइरहेको समयमा उक्त दुर्घटना भएको थियो। सेटमा उपस्थित अभिनेत्री र अन्य सदस्यहरू सकुशल भए पनि अर्जुन कपूर, निर्माता ज्याकी भगनानी र मुदस्सर अजिजको अवस्था भने गम्भीर रहेको बताइएको छ। बलिउड हंगामाको रिपोर्ट अनुसार दुर्घटनापछि तुरुन्तै सबैलाई नजिकैको अस्पतालमा लगिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ।
दुर्घटना फिल्म उद्योगका लागि ठूलो झड्का भएको बताइँदैछ। ‘मेरे हसब्यान्ड की बीवी’ का निर्माण टोलीले घटनाको सत्यता स्वीकार गर्दै घाइतेहरूको स्वास्थ्य अवस्था स्थिर बनाउने प्रयासमा जुटेको जानकारी दिएको छ।
यस दुर्घटनाले बलिउडमा सेटको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रशंसकहरूले अर्जुन कपूर र अन्य घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
सुरक्षा मापदण्डको पालना नगर्नु र लापरबाहीकै कारण यस्तो दुर्घटना भएको हुनसक्ने भन्दै छानबिन सुरु गरिएको छ।