गुल्मी, धुर्कोट—
नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकार नीतिगत भ्रष्टाचारमा लागेको गम्भीर आरोप लगाएकी छन्। गुल्मीको धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रको गाउँ अधिवेशन उद्घाटन गर्दै उनले दुई ठूला पार्टीले भ्रष्टाचारलाई संस्थागत गर्ने प्रक्रियामा रहेको बताइन्।
भुसालले भनिन्, “रातारात असंवैधानिक तरिकाले बिचौलिया र दलाल पुँजीपतिको घरमा बसेर भ्रष्टाचारीको रक्षा गर्ने ७ बुँदे सहमति गरेर उनीहरूले राजनीतिक स्थायीत्वको नाममा जनताको अधिकार खोस्न खोजेका छन्।”
उनले माओवादी नेतृत्वको संविधानमा परिवर्तनकारी प्रावधानहरूलाई हटाउने षड्यन्त्र भइरहेको दाबी गरिन्। “महिला, दलित, मधेसी, आदिवासी, जनजाति, र उत्पीडित समुदायको अधिकार खोस्ने गरी समानुपातिक प्रणाली हटाउने योजना चलिरहेको छ,” उनले भनिन्।
नीतिगत भ्रष्टाचारको विस्तार
भुसालले ठूला दुई पार्टीले भ्रष्टाचारीलाई ढाकछोप गर्न, उनीहरूका विरुद्धका मुद्दा थन्क्याउन र दलाल पुँजीपतिलाई लाभ हुने नीतिहरू लागू गर्न सहकार्य गरिरहेको आरोप लगाइन्। “तिनीहरूले भ्रष्टाचारीलाई फाइदा हुने अध्यादेश र ऐन ल्याउने काम गरिरहेका छन्। यस्तो लाग्छ, दलाल पुँजीपतिको शासनलाई संस्थागत गर्न दुई पार्टी सहमत छन्,” उनले भनिन्।
उनले गठबन्धन सरकारका गतिविधिबाट माओवादी केन्द्र पनि आलोचित भएको स्वीकार गरिन्। “हामी युद्ध लडेर आएका छौं, तर अहिले गठबन्धन गरेर काम गर्दा दलाल नोकरशाही पुँजीपतिजस्तो देखिन थाल्यौं,” भुसालले भनिन्। “अब हामी जनतासँग माफी माग्छौं र भविष्यमा गठबन्धनको चुनाव लड्दैनौं।”
समानुपातिक प्रणाली र थ्रेसहोल्डको विरोध
भुसालले संविधान संशोधनका नाममा साना दललाई असक्षम बनाउने थ्रेसहोल्डको व्यवस्थालाई पनि आलोचना गरिन्। “थ्रेसहोल्ड लगाएर साना दललाई माथि आउन नदिने षड्यन्त्र भइरहेको छ,” उनले भनिन्।
उनले आगामी निर्वाचनमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाइन्। “हामी २०८४ को चुनाव एक्लै लड्नेछौं। जनताले हामीलाई यो भ्रष्टाचारविरोधी अभियानमा समर्थन गर्नेछ भन्ने विश्वास छ,” उनले भनिन्।
माओवादीको नयाँ यात्रा
भुसालले माओवादी केन्द्रले अब जनतासँग सिधा संवाद गरेर पार्टीको नीति र अभियानमा सुधार गर्ने बताइन्। “हामी फेरि एकपटक जनताको बीचमा गएर क्रान्तिकारी विचारको पुनर्स्थापना गर्नेछौं। हाम्रो युद्ध जनताको हितमा थियो, र अबको लडाइँ पनि जनताको अधिकार सुनिश्चित गर्न हुनेछ,” उनले भनिन्।
भ्रष्टाचारविरुद्धको जनजागरण
माओवादी उपाध्यक्षले जनतालाई भ्रष्टाचारविरुद्ध जागरूक हुन र सशक्त प्रतिरोध गर्न अपिल गरिन्। “यो शासन पद्धतिमा सुधार ल्याउनका लागि हामी सबै एकजुट हुनुपर्छ। दलाल, बिचौलिया, र भ्रष्टाचारका संरचनालाई हटाएर मात्र देशलाई समृद्ध बनाउने हाम्रो सपना पूरा हुन सक्छ,” उनले भनिन्।
गुल्मीको धुर्कोट गाउँपालिकामा आयोजित कार्यक्रम जनसहभागिताले भरिपूर्ण थियो, जहाँ भुसालको भनाइलाई धेरैले समर्थन गरेका छन।















