काठमाडौ । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणको मुद्दा आइतबार रूपन्देही जिल्ला अदालतमा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जिल्ला अदालतमा सोसम्बन्धी मुद्दा दर्ता गरेको जिल्ला अदालतका सूचना अधिकारी अनन्त मरासिनीले जानकारी दिए । यससहित रविविरुद्ध अदालतमा तेस्रो मुद्दा परेको हो।
यसअघि विभिन्न सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पोखरामा र काठमाडौंमा मुद्दा दायर भए पनि उनि धरौटीमा छुटेका थिए । लामिछाने काठमाडौं अदालतबाट ६० लाख र पोखरा अदालतबाट ६५ लाख धरौटीमा छुटेर बाहिरै बसेर मुद्दा लाडिरहेका छन् । यसै क्रममा आइतबार फेरि लामिछानेविरुद्ध रूपन्देहीमा अर्को मुद्दा दायर भएको हो। उनिविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो।
संगठित रूपमा ठगीको कसुरको सो मुद्दामा लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपियाँभन्दा बढी रकम अपचलन भएको प्रहरीको निष्कर्ष छ। प्रहरीका अनुसार सोमध्ये १४ करोड रुपियाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको छ। प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितलाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रवार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।