गढीमाई मन्दिरमा तोडफोड गर्नेलाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ। राष्ट्रिय समता पार्टी नेपालले बारा जिल्लाको गढीमाई मन्दिरमा यही माघ ३ गते तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै आज गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र पेश गरेको छ ।

सो पार्टीका राष्ट्रिय अध्यक्ष विजयप्रकाश निषादको नेतृत्वमा पार्टीका महासचिव अभिषेक तिवारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्रबहादुर श्रेष्ठ सहितको टोली आज गृहमन्त्री लेखकलाई भेट गरी मन्दिर तोडफोड गर्नेलाई यथाशीघ्र पहिचान गरी तत्काल कडा कानुनी कारबाही गर्नुपर्ने माग राख्दै उक्त ज्ञापनपत्र पेश गरेको महासचिव अभिषेक तिवारीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०८१/१०/०३ गते बिहीबार राती करिब १० बजे को समयमा आपराधिक मानसिकता बोकेका केही अराजक जत्थाहरुले भाकल स्वरुप मन्दिरमा छाडिएका परेवा चोर्ने र लुटपाट गर्ने अभिप्रायले गढीमाई मन्दिर परिसर भित्र छिर्दा त्यहाँ खटिएका नगर प्रहरीले रोके पश्चात् नगर प्रहरीसँग झडप गरी हातपात समेत गरेको साथै शुक्रबार बिहान पुन: सुनियोजित तवरले केही अराजक जत्थाहरुका समूहले गढीमाई मन्दिर परिसर भित्र छिरी त्यहाँ रहेको दानपेटीका र पंखाहरु समेत तोडफोड गरी चरम उदण्डता गरेको दृश्यहरु सिसि टिभी फुटेजमा सहजै देखिएको उक्त ज्ञापन पत्र मार्फत जनाइएको छ ।

“कानुनी राज्यको ठाडो उपहास गर्दै अराजक समूहद्वारा बारा जिल्ला स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरिएको तोडफोड तथा उदण्डता विरुद्ध तत्काल कारबाही हुनुपर्ने माग राख्दै आज गृहमन्त्री माननीय रमेश लेखक ज्यूलाई गम्भीर ध्यानाकर्षण गराउदै राष्ट्रिय समता पार्टी नेपाल द्वारा ज्ञापान पत्र बुझाएको छ ।” विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us