काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताएका छन् ।
बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
एमसीसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै उनले अहिले आम नागरिकले सही रहेछ भन्नेकुरा बुझेको जिकिर गरे ।
‘एक पटक एमसीसी पास गर्ने बेलामा, एमसीसी सही छाप गर्ने बेलामा धेरै ठूलो विरोध भयो,’ देउवाले भने, ‘पार्लियामेन्टबाट पास गराउन पनि धेरै गाह्रो भयो । अहिले सबैलाई थाहा भयो की त्यो साँच्चिकै राम्रो रहेछ भनेर । यसले नेपाललाई फाइदै गरेको छ, हानी गरेको छैन भनेर ।’
साथै, उनले एमसीसी परियोजना ऋणमा नआएको पनि बताए ।
‘यो ग्रान्टमा आएको हो, ऋणमा आएको होइन । त्यसले अहिले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखे । राम्रो गरेको छ,’ उनले भने ।