शीतलहरले तराईको जनजीवन प्रभावित : मोरङ् प्रशासनले गर्यो यस्तो तयारी

विराटनगर । शीतलहरका कारण कोशी प्रदेशको राजधानी विराटनगरसहित तराईको जनजीवन प्रभावित बनेको छ ।

विराटनगरलगायत विभिन्न स्थानमा आज (बिहीबार) बिहानैदेखि शीतलहर चलिरहेको छ । शीतले सडक पानी परेर भिजेको जस्तो देखिन्छ । केही दिनदेखि बाक्लो हुस्सु लागेका कारण आकाश खुल्न सकेको छैन । निरन्तर हुस्सु लागिरहेका बेला शीतलहर चल्न थालेको हो ।

मौसम धुम्म भएका बेला चल्न थालेको शीतलहरले चिसो अत्यधिक बढाएको छ । सर्वसाधारण समस्यामा पर्न थालेका छन् । मौसम चिसिदै गएर ठिही बढेको हो । केही दिन यस्तै अवस्था रहने अनुमान छ । मौसममा सुधार हुन समय लाग्ने मौमसविद्हरू बताउँछन् ।

बढ्दो ठिहीले जनजीवनलाई असर गरिरहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका नायव मौसम विज्ञान सहायक अमूल्य कर्माचार्यले बताए । उनका अनुसार बिहीबार बिहान विराटनगरको न्यूनतम तापक्रम १३.२ डिग्री सेल्सियस मापन गरिएको छ । यसवर्षको सबैभन्दा कम तापक्रम गत आइतबार ८.६ डिग्री मापन गरिएको जानकारी कर्माचार्यले दिए ।

चिसो बढेसँगै सार्वजनिक स्थल, सरकारी कार्यालय, सडक तथा विभिन्न ठाउँमा सर्वसाधारणको चहलपहल कम हुँदै गइरहेको छ । जाडो बढ्दा पारिवारिक आर्थिक अवस्था कमजोर भएका, न्यानो लुगा किनेर लगाउन नसक्ने अवस्थाका तथा वासस्थानको उचित व्यवस्था नभएकाहरू, वृद्धवृद्धा, गर्भवती, सुत्केरी, दीर्घरोगी, बालबालिकालगायत समस्यामा परेका छन् ।

यस्तो अवस्थामा दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सावधानी अपनाएर सवारीसाधन सञ्चालन गर्न चालकलाई आग्रह गरेको छ । हुस्सु लागेको समयमा अगाडिको ‘फक्स लाइट’ बालेर मात्रै सवारीसाधन चलाउन चालकलाई आह्वान गरिएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।

‘रोड भिजिविलिटी’ कम भएर नजिकै रहेका कुनै पनि वस्तु नदेखिने हुँदा दुर्घटनाको जोखिम बढेको लम्सालको भनाइ छ । दैनिक व्यस्त रहने विराटनगर विमानस्थलमा मौसममा आएको खराबीले ‘भिजिविलिटी’ कम हुँदा जहाजको उडान र अवतरणमा समस्या भइरहेको छ । उडान नै अवरुद्ध भइरहेको हो ।

प्रत्येक दिन बिहान ७ः३० बजेदेखि विमानस्थल सञ्चालनमा आउने गरेको थियो । केही दिनदेखि नियमित उद्धाव प्रभावित बनिरहेको छ । मौसम प्रतिकूलताका कारण उडान रद्ध हुँदा यात्रुहरु मारमा पर्ने गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चिसोबाट प्रभावित समुदायलाई सहयोग गर्न विभिन्न संघ संस्थासँग समन्वय भइरहेको बताए । ‘चिसोबाट प्रभावित बनेका सर्वसाधारणलाई दाउरा, न्यानो कपडा र आवश्यक राहत सामग्री उपलब्ध गराइने छ,’ उनले भने, ‘आवश्यकता अनुसार स्थानीय तह तथा विभिन्न संस्थासँग समन्वय हुन्छ ।’

प्रजिअ यादवले सर्वसाधारणलाई चिसोबाट बचाउने उपाय अवलम्बन गरिएको बताए । आगो बाल्नलाई दाउराको थप व्यवस्था मिलाउन स्थानीय तहका तर्फबाट वन कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ छ । चिसो प्रभावितको विवरण संकलन गरेर उनीहरुलाई सुरक्षित राख्न र जाडोका समयमा हुने मानवीय क्षति रोक्न सक्रियता बढाइएको जानकारी यादवले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us