‘माधव र झलनाथले विद्रोह नगरेको भए ओलीले गणतन्त्र सिध्याइसक्थे’

कपिलवस्तु- राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले सर्वोच्च अदालतको परमादेशबाट जन्मिएको पार्टी भएको बताएका छन् ।

जिल्लाको वाणगंगा नगरपालिकास्थित बैदोलीमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकार परमादेशबाट आएको भन्दै हिंड्ने एमाले स्वयं पनि सर्वोच्चको फैसलाबाट जन्मिएको पार्टी भएको बताएका हुन् । ‘सर्वोच्चले एमालेलाई एमाले र माओवादीलाई माओवादी बनाएको वैधानिक हुने,’ उनले भने, ‘तर, त्यही सर्वोच्च अदालतले फैसला गरेर बनाएको सरकारलाई परमादेशी भनेर होच्याउने कस्तो सोचाइ हो ?’

माधव नेपाल र झलनाथ खनालले पार्टीमा विद्रोह नगरेको भए ओलीले अहिलेसम्म गणतन्त्र सिध्याइसक्ने उनले आरोप लगाए । ‘एमालेको पार्टी र पदको झगडाको सिकार नेपाली जनता भए,’ उनले भने, ‘प्रतिगमनविरुद्ध सबै एक हुनुपर्छ भनेर जनमोर्चाले अग्रसरता लिएर सबैलाई एकजुट बनाएको हो ।’

गणतन्त्र सिध्याउन खोज्नेहरू अहिले धर्मनिरपेक्षता हटाउन राजा आऊ देश बचाऊ भनिरहेको उनले बताए । ‘कोरोनाले मुलुक थिलथिलो भइरहेका बेला वामपन्थी भन्ने केपी शर्मा ओलीले पशुपतिमा १ सय ८ किलोको जलहरी किन चढाउनु पर्‍यो ?’ उनले प्रश्न गरे, ‘त्यति महँगो सुन । त्यो पशुपतिको होइन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पूजा हो ।’

अहिले चित्रबहादुर कांग्रेस भयो भनेर प्रतिगामीहरू प्रचार गरिरहेको बताउँदै उनले प्रतिगमनविरुद्ध कांग्रेस, माओवादी र मधेसवादी एक भएकाले सहकार्य गरेको उनले बताए । यी पार्टीसँग धेरै असहमति भए पनि ओलीतन्त्रविरुद्ध एक भएको उनले बताए ।

०७४ को संसदीय निर्वाचनमा एमाले र माओवादी मिलेर चुनावमा जान थालेपछि आफूलाई कांग्रेस सभापति देउवालगायतका वरिष्ठ नेताले कांग्रेससँग मिलेर जान दुई घण्टा फकाएको उनले सुनाए । ‘तर, म चोर चण्डाल भए नि वामपन्थीसँग मिलेर जान्छु भनेर हिँडे,’ उनले भने, ‘तर, ओलीले लगेर खाल्टोमा जाके ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us