महानगर यातायातले ४० बस थप्दै, ९० बसले दिनेछन् नयाँ रुटमा सेवा

काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायात प्रालिले ४० वटा नयाँ बस थपेको छ । विगत ९ वर्षदेखि ठूला बसहरूमार्फत् सेवा दिँदै आएको यस यातायात कम्पनीले यात्रुको सेवालाई मध्यनजर गर्दै थप ४० वटा नयाँ बस सञ्चालन गर्ने जानकारी दिएको हो ।

कम्पनीले टाटा मोटर्सका ४० वटा बस बिहीबारदेखि सञ्चालनमा ल्याउने भएको हो । कम्पनीले ४० वटा बस थपसँगै नयाँ रुट पनि सञ्चालन गर्ने जानकारी दिएको छ ।

कम्पनीका अध्यक्ष मधुसुदन उपाध्याय अधिकारीले सेवा विस्तारसँगै नयाँ रुटमा पनि सेवा दिने जानकारी दिएका छन् ।

हाल यस यातायातले ५० वटा बसबाट सेवा दिँदै आएको छ । सर्वसाधारणले सार्वजनिक यातायातमा खेप्नु परेको सास्ती न्यून गर्न अत्याधुनिक सुविधायुक्त ४० वटा बसले सेवा दिन लागेको अधिकारीले जानकारी दिएका हुन् ।

यात्रुलाई सुरक्षित, आनन्ददायी र मनोरन्जनात्मक यात्रा गराउन महानगर यातायात प्रालिले २०७२ मा चक्रपथमा बस सेवा सुरु गरेको थियो । अब त्यसलाई बिस्तार गर्ने योजना कम्पनीले बनाएको हो । सुरुमा १६ करोड लगानीमा ४० वटा बस सञ्चालन गरेको यस कमपनीले त्यसपछि १० वटा बस थपेको थियो । अब कम्पनीको कुल बस संख्या ९० हुनेछ ।

४० सिट क्षमताको महानगर यातायात ठूलाे र सुविधायुक्त छ । बसमा जीपीएस ट्रयाकिङ सिस्टमसहित मोबाइल एप सुविधा पनि दिइएको छ । सो सुविधामार्फत् बस कहाँ छ भनेर मोबाइलमै हेर्न सकिने व्यवस्था पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us