काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता पुर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई वैचारिक–सैद्धान्तिक रूपमा बलियो बनाउनुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बुधवार आयोजित पार्टी विदेश र स्कुल विभागबीच निर्णय पुस्तिका आदानप्रदानसम्बन्धी कार्यक्रममा खनालले पार्टी अधिवेशन भएको सात महिनापछि बल्ल माइन्युट हस्तान्तरण भएकामा असन्तुष्टि जनाउँदै
चिप्लेकिराको गतिले पार्टी चल्न नहुने र पार्टीलाई वैचारिक–सैद्धान्तिक रूपमा बलियो बनाउने , मर्मतसम्भार गर्ने कुरामा ढिला गर्न नहुने बताएका हुन् ।
खनालले माक्र्सवादी सिद्धान्त पढेर र पार्टीमा दस्तावेज पारित गरेर मात्र केही नहुने भन्दै त्यसलाई अध्ययन गर्न र नेपाली परिवेशमा लागु गराउन पार्टीका सबैजना लाग्नुपर्ने धारणा राखे ।
आगामी कार्यदिशा समाजवादी क्रान्ति नै भएकामा जोड दिँदै नेता खनालले माक्र्सवादका ठेली मात्र नपढी व्यवहारमा नेपालको माक्र्सवाद विकसित गरिनुपर्नेमा जोड दिए ।
‘समाजवादी कार्यक्रमको नीति छैन, पार्टी चलते चलाते ढङ्गले चलेको छ, हिँड्दै छ, पाइला मेट्दै छ जस्तो भइरहेको छ’, पूर्वप्रधानमन्त्रीले भने ।
कार्यक्रममा खनालले चिनको उदाहरण दिदैं कम्युनिस्ट पार्टी स्थापनादेखिका अनुभव सँगालेर सन् १९४५ मा दस्तावेज पारित गरेको र त्यसलाई माओ विचारधारा भनिएको, तङ सियाओफिङका पालामा चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवसमेत समेटेर सन् १९८५ मा दोस्रो र चीनलाई नयाँ शक्तिका रूपमा विकसित गरी साम्राज्यविरुद्ध लड्नसक्ने बनाउन सन् २०२१ मा सि चिनफिङले तेस्रो दस्तावेज ल्याएपछि विरोधीको हाड चूर्ण पार्न सक्ने शक्ति बनेको उल्लेख गरे ।
साम्यवादी चीन निर्माण भएको एक सय वर्ष सन् २०४५ मा संसारको आधुनिक र शक्तिशाली चीन बनाइने नीति अघि सारिएको जनाउँदै नेपालले पनि आफ्नै वास्तविकतामा आधारित हुन सिक्नुपर्ने उदाहरण प्रस्तुत गरेका थिए ।