शिक्षकहरूलाई शिक्षामन्त्रीको सुझाव – एसईई आउँदैछ आन्दोलन होइन कक्षामा जानुस्

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकहरूलाई आन्दोलनमा भन्दा कक्षाकोठामा जान आग्रह गरेकी छन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले आयोजना गरेको विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन र गुणस्तरमा प्रभाव विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अहिले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताउँदै कक्षा कोठामा गएर पढाइमा ध्यान दिन आग्रह गरेकी हुन् ।

नेपाल शिक्षक महासङ्घले माघ १६ र १७ गतेको तेस्रो पूर्ण राष्ट्रिय समितिको बैठकपछि काठमाडौँ केन्द्रित आन्दोलनको तयारी गरेको छ । उक्त बैठकपछि विद्यालय शिक्षा ऐन चाँडो ल्याउनुपर्ने, शिक्षकका पेशागत मागहरू सम्बोधन गरिनुपर्ने जस्ता माग राखेर आन्दोलनको तयारी गरेका हुन् ।

आन्दोलनको तयारीमा रहेका शिक्षकहरूलाई मन्त्री भट्टराईले आन्दोलन शब्दबाट विद्यार्थीहरू समेत त्रसित हुन थालेको बताइन ।

मन्त्री फेर्नका लागि आन्दोलन गर्न खोजेको हो भने आफू तत्काल राजीनामा दिने बताइन् । ‘आन्दोलन राज्य व्यवस्था परिवर्तन गर्नका लागि गरियो । मन्त्री फेर्ने हो भने आन्दोलन गर्नुहोस् म एकदमै आभार व्यक्त गर्छु । यो विद्या भट्टराई मन्त्री भइन फेरौँ भन्नु हुन्छ भने हुन्छ मैले छोडी नै हाल्छु समस्या छैन । तर हामी साँच्चिकै समाज बनाउनका लागि हो भने अगाडी बढेको मिलेन’, उनले भनिन् ।

हिजोका दिनमा सार्वजनिक छलफलमा शिक्षकहरू आउन नसक्ने अवस्था रहेको बताउँदै अहिले त्यो अवस्था नरहेको बताइन । अहिले सरकारले एसईईको नतिजा ७० प्रतिशत पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेको अवस्थामा शिक्षकहरूले आन्दोलन गर्छु भन्नको अर्थ नहुने बताइन ।

‘हामी एसईईको नजिक छौँ । प्रधानमन्त्री बारम्बार भन्नु हुन्छ ७० प्रतिशत पास गराउनु पर्छ त्यो सरकारको लक्ष्य हो । अनि सङ्घ–सङ्गठन आन्दोलन गर्छौ भनेपछि शिक्षामन्त्री कता पट्टि जाने ?’ उनले प्रश्न गर्दै भनिन्, ‘सङ्घ सङ्गठनसँगै आन्दोलनमा जाने की प्रधानमन्त्रीले भन्नु भएकोतिर लक्ष्य प्राप्तिका लागि काम गर्ने ? त्यसैले मैले के अनुरोध गर्न चाहन्छु भने नेतृत्व त्यो हो जसले जोखिमलाई पनि सहज ढङ्गले अगाडी बढ्नका लागि आफूलाई तयार गर्छ ।’

यदि शिक्षक सङ्घ–सङ्गठनले आफूहरूलाई शिक्षकहरूको नेता ठान्ने हो भने चाहे सिकाउने कुरामा भएका चुनौती हुन वा काम गर्ने सन्दर्भका चुनौती हुन लगायतका आजका चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने विषयमा केन्द्रित हुनुपर्ने बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us