देशभरमा ९,४३३ सरकारी कार्यालय, सेवा प्रवाह भने सोचेजस्तो किन हुन सकेन ?

काठमाडौं । अहिले तीनवटै सरकारमा गरी देशभरमा ९ हजार ४ सय ३३ वटा सरकारी कार्यालयहरू सञ्चालनमा रहे पनि ती कार्यालयबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन।

संघीय शासन प्रणाली स्थापना भएसँगै संघ, प्रदेश र स्थानीय गरी तीनवटा सरकार सञ्चालनमा रहेका र ती सरकार मातहत ९ हजार ४ सय ३३ सरकारी कार्यालय सञ्चालनमा रहेको राष्ट्रिय निजामती किताबखानाले जनाएको छ।

देशभरमा त्यति धेरै सरकारी कार्यालयहरू भए पनि ती कार्यालयमा प्रभावकारी अनुगमन नहुने र काम नगर्नेमाथि कारवाहीसमेत नहुँदा सेवा प्रवाह कमजोर हुँदै गइरहेको प्रशासनविद्हरूको विश्लेषण छ। सरकारी सेवामा दण्डहीनता अत्यधिक मौलाउँदो अवस्थामा रहेकाले पनि कर्मचारीहरूमा अराजक प्रवृत्ति हाबी भएको र उनीहरूले प्रभावकारी सेवा दिन नसकेको बताइएको छ।

किताबखानाका अनुसार केन्द्र सरकार मातहत रहेका सरकारी कार्यालयहरूको संख्या वर्षेनी घट्दो क्रममा रहेको छ भने प्रदेश र स्थानीय तह मातहत रहेका सरकारी कार्यालयहरुको संख्या भने बढ्दो क्रममा रहेको छ। यद्यपि, सरकारी कार्यालय बढ्दो क्रममा रहेका स्थानीय सरकार र प्रदेश सरकारबाट दिने सेवा प्रवाह भने झनै कमजोर र सुस्त हुँदै आइरहेको सेवाग्राहीको गुनासो हुने गरेको छ। किताबखानाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा केन्द्र सरकार मातहत १८८६ वटा सरकारी कार्यालयहरू रहेका छन् भने प्रदेश सरकार मातहत ९४१ र स्थानीय सरकारअन्तर्गत ६ हजार ६ सय ६ वटा कार्यालयहरू रहेका छन्।

पाँच वर्षअघि आर्थिक वर्ष २०७६÷७७ मा जम्मा ९ हजार ५ सय ७४ वटा सरकारी कार्यालयहरू रहेका थिए। जसमध्ये केन्द्रअन्तर्गत २०४८ वटा तथा प्रदेश सरकार मातहत ९ सय २२ र स्थानीय तहअन्तर्गतका ६ हजार ६ सय ४ वटा कार्यालयहरू रहेका थिए । जसअनुसार वर्षेनी केन्द्रको कार्यालय घट्दो अवस्था देखिन्छ भने प्रदेश र स्थानीय तहमा कार्यालयहरू बढ्दो क्रममा रहेको देखिन्छ।

ती कार्यालयमा सेवा प्रवाह गर्न तीनवटै सरकारमा गरी जम्मा ८५ हजार ५ सय २० जना कर्मचारी खटिइरहेका छन्। जसअनुसार संघ सरकारमा ४१ हजार ५ सय ६३ कर्मचारी कार्यरत छन् भने प्रदेश सरकारमा ११ हजार १ सय ३८ र स्थानीय सरकारमा ३२ हजार ८ सय ८ कर्मचारी कार्यरत रहेको राष्ट्रिय किताबखानाले जनाएको छ।

किताबखानाका अनु्सार कर्मचारी पनि संघ सरकारमा वर्षेनी कटौती हँुदै गएका छन्। संघमा आर्थिक वर्ष २०७७/७८ मा ४७ हजार ८ सय ७८ कर्मचारी रहेका थिए । जसअनुसार पाँच वर्षमा संघमा ५ हजारभन्दा बढी कर्मचारीको दरबन्दी कटौती गरिएको छ। तर, स्थानीय तहमा भने पाँच वर्षअघि ३० हजार २ सय कर्मचारी रहेकोमा हाल ३२ हजार ८ सय ८ जना कर्मचारी रहेका छन्। यसै गरी पाँच वर्षअघि प्रदेश सरकारमा १० हजार ५ सय ५३ कर्मचारी रहेकोमा हाल बढेर ११ हजार १ सय ३८ पुगेका छन्।

हाल कहाँ कति कार्यालय ?
संघ : १८८६
प्रदेश : ९४१
स्थानीय : ६६०६

कहाँ कति कर्मचारी ?
संघ : ४१,५ ६३
प्रदेश : ११, १ ३८
स्थानीय : ३२,८०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us