दाङ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओेवादी एक्लै निर्वाचन लड्ने बताएका छन्।
प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न माओवादी सक्षम रहेको बताए।
अध्यक्ष प्रचण्डले भने,‘माओवादीलाई एक्लै निर्वाचन लड्न नसक्ने पार्टी भन्ने आरोपलाई चिर्नका लागि एक्लै निर्वाचनमा जान्छ, कसैको साथ लिँदैन। माओवादी अरूको वैशाखी टेक्ने होइन, बरू अरूलाई टेकाउने पार्टी हो।’
उनले आफू जनताका पीरमर्का बुझ्न जनतामाझ गइरहेको बताउँदै माओवादीप्रति उनीहरुको धारणा सकारात्मक रहेको पनि बताए।