काठमाडाैं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले खर्चिलो निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको बताउनु भएको छ ।
उपाध्यक्ष शाक्यले पछिल्लो सयम निर्वाचन प्रणाली बढी नै खर्चिलो हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसमा सुधारको आवश्यकता रहेको र त्यसका लागि निर्वाचन आयोग र राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने बताउनुभएको हो । देशको विकास गर्न लागि सबै राजनीतिक दलहरुका साझा मुद्धाहरु हुनुपर्ने बताउँदै उहाँले अहिलेको सहज आवस्थामा पनि देशले प्रगति गर्न नसक्नुको कारण राजनीतिक नेतृत्व दोषी रहेको जिकिर समेत गर्नुभएको छ ।
निर्वाचनमा अपारदर्शी ढंगबाट धेरै नै खर्च हुने गरेको भन्दै उहाँले त्यसको अनुगमनमा निर्वाचन आयोगले बढी जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचन प्रणाली खर्चिलो बन्दा लामो समय देश र जनताको लागि त्याग गरेका इमान्दार र क्षमतावान व्यक्ति पनि राजनीतिबाट बिमुख हुन सक्ने चिन्ता समेत व्यक्त गर्नुभएको छ ।
उहाँले राजनीतिक नेतृत्वमा राजनीतिक संस्कारको पनि कमी भएको भन्दै परिर्वतनको वाहक राजनीतिक नेतृत्वको सोच, शैली र व्यवहारमा परिवर्तनको आवश्यक औल्याउनुभयो । उपाध्यक्ष शाक्यले विगतमा नेकपा एमाले विभाजित हुनुमा पार्टी नेतृत्व नै दोषी रहेको भन्दै पार्टीमा अन्तरसंर्घष गर्नुको साटो पार्टी नै विभाजित बन्ने परिस्थिति निर्माण हुनु गतल भएको स्वीकार समेत गर्नुभयो । उपाध्यक्ष शाक्यले विभिन्न व्यवस्था भत्काउन नेताहरु सफल भए पनि देशको विकास र जनताको हितमा काम गर्न सफल हुन नसकेको उहाँको भनाइ छ ।