काठमाडौँ : नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सम्पत्ति शुद्धिकरणको मामिलामा जोखिमयुक्त मुलुकमा सूचीकृत भई अन्ताराष्ट्रिय अनुगमनमा जानसक्ने सम्भावना रहेको बताएका छन्।
सोमवार सम्पत्ति शुद्धिकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो संकेत गरेका हुन्। उनले सम्पती शुद्धिकरणको मामिलामा अनुगमन गर्ने निकाय, फाइनान्सियल एक्शन टास्क फोर्सको एशिया प्यासिफिक ग्रुप एपीजीले नेपाल जोखिमपूर्ण मुलुक (ग्रे लिस्ट)मा जाने अवस्था देखाएको बताए।
उनले आर्थिक अपराध नियन्त्रणमा नेपालको प्रयासलाई एपीजीले उच्च, राम्रो, मध्यम र न्यून भनी वर्गीकरण गर्दा नेपाल ग्रे लिस्टमा पर्ने सम्भावना रहेको बताए। उनले एफएटीएफले सम्पत्ति शुद्धिकरण गैरकानूनी क्रियाकलाप निवारण गर्ने उद्देश्यका साथ अन्ताराष्ट्रिय मापदण्ड निर्धारण गरेका मापदण्ड पूरा नभएको आधारमा एपीजीले सम्पत्ति शुद्धिकरणको कालोसूचीमा लैजाने बताए।
उनले एफएटीएफले गर्ने फेब्रुअरी १७ देखि २१ सम्म हुने मूल्याङ्कनमा नेपालका सबै रिपोर्ट हेरेर ग्रे लिस्टमा राख्ने नराख्ने निर्णय हुने बताए। उनले नेपाल सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा समावेश भयो भने पनि चाँडै बाहिर निस्कने धेरै सम्भावना रहेको बताए।
गभर्नर अधिकारीले भने‚ ‘फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) ले सम्पत्ति शुद्धिकरण गैरकानूनी क्रियाकलाप निवारण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गरेको छ। यस क्षेत्रमा कानूनी, नीतिगत र संरचनागत रूपमा काम हुँदै आएको छ। एशिया प्रशान्त क्षेत्रमा एशिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङ (एपीजी) ले मूल्याङ्कन गर्ने गरेको छ। यो क्षेत्रमा सुधार भए‚ नभएको हेरेर एपीजीले सम्पत्ति शुद्धिकरणको कालोसूचीमा लैजान्छ। नेपाल तेस्रो मूल्याङ्कनपछि अब्जरबेसन सकिएको छ। हामी लिस्टिङको स्टेजमा छौं। एफएटीएफले गर्ने फेब्रुअरी १७ देखि २१ सम्म हुने मूल्याङ्कनमा नेपालका सबै रिपोर्ट हेरेर लिस्टिङको स्टेजको अवस्था थाहा हुनेछ। ग्रे लिस्टमा समावेश भयो भने पनि हामी बाहिर निस्कने धेरै आधारशिला बनेका छन्।’
उनले पछिल्लो समय नयाँ–नयाँ जोखिम आइरहेको भन्दै त्यस्ता जोखिमलाई न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिए। उनले गैरकानूनी हिसाबमा सम्पत्ति आर्जन गर्नेलाई कडा कारबाही हुनुपर्ने बताए।