बाढी पीडित परिवारलाई इनड्राइभले घर निर्माण गरिदियाे

काठमाडौं । राइड हेलिङ प्लेटफर्म इनड्राइभले नेपालमा बाढी र पहिरोबाट प्रभावित परिवारहरूका लागि घर निर्माण गरेको छ । राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा इनड्राइभले ३३ लाख ५५ हजार ५०० रुपैयाँ (२५ हजार अमेरिकी डलर) को सहयोगमा यो घर निर्माण गरेको हो ।

बाढी र पहिरोबाट विस्थापित भएका परिवारहरूको आवश्यकतालाई ध्यानमा राख्दै इनड्राइभले स्थानीय समुदायसँग मिलेर यो घर निर्माण गरेको छ । यस अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर १० मा पर्ने दाप्चा गाउँमा दुई, लास्कोट गाउँमा एक र पनौती नगरपालिका वडा नम्बर १२ को रोशी गाउँमा दुई ओटा घर निर्माण गरिएको छ ।

पहिलो चरणमा दुई ओटा घरको निर्माण कार्य पूरा गरी स्थानीय जनप्रतिनिधिको रोहबरमा पीडित परिवारलाई सो घरहरू हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । बाँस र माटो प्रयोग गरेर बनाइएका यी घरहरू वातावरणमैत्री छन् भन्ने दाबी गरिएको छ ।

प्रत्येक घरमा दुई ओटा सुत्ने कोठा, शौचालय, भान्सा, भोजनकक्ष र बैठक कोठा रहेका छन् । जाडोमा न्यानो र गर्मीमा शीतल हुनेगरी बनाइएका यी घरहरूमा जाडोमा ११ डिग्री सेल्सियसभन्दा कम र गर्मीमा ३० डिग्री सेल्सियसभन्दा माथि तापक्रम नहुने बताइएको छ ।

घर निर्माणसँगै इनड्राइभले नमोबुद्ध नगरपालिका वडा नम्बर १० का पीडित परिवारलाई कम्बल पनि वितरण गरेको छ । इनड्राइभकी एसिया प्यासिफिक कम्युनिकेसन लिड पवित नन्दा आनन्दले समुदायलाई सहयोग गर्ने र दिगो समाधान दिने कुरामा आफूहरू विश्वास गर्छन् भनेका छन् ।

त्यस्तै, इनड्राइभका एसिया प्यासिफिक क्षेत्रीय निर्देशक मार्क टलीले सामाजिक अन्यायलाई चुनौती दिने आफ्नो अभियानमा इनड्राइभ सन् २०३० सम्ममा एक अर्ब मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न प्रतिबद्ध रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us