काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले थाहा पाएसम्म र जानेबुझेसम्म भ्रष्टाचार हुन नदिने बताएका छन् ।
भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कसर बाँकी नराख्ने उनले बताए । नेपाल बार एसोसिएसनले आयोजना गरेको पहिलो युवा कानून व्यवसायी सम्मेलनलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै ओलीले आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने बताएका हुन् ।
‘भ्रष्टाचार कहाँ छ भन्ने, कहाँ छैन भन्ने ? कसको सम्बन्धमा कुरा गर्दा कता धक्का पर्ला । तर पनि भ्रष्टाचार नियन्त्रण गर्नु पर्दछ । वर्तमान सरकार, म भ्रष्टाचार गर्दिनँ, थाहा पाएसम्म र जानेबुझेसम्म हुन दिन्नँ,’ ओलीले भने, ‘मुसाले कहाँ–कहाँ प्वाल पार्छ, थाहा पाए त हो, थाहा हुन्न । थाहा भए नियन्त्रण गर्छु, यो स्टन्टबाजी होइन ।’
ओलीले सामाजिक सञ्जालमा आफूलाई मात्र नभएर पत्नीलाई समेत आरोप लगाएकोमा आश्चर्य व्यक्त गरे ।
‘हिजोबिहान फेसबूक खोलेको, एउटा हिन्दीमा पढ्दै थियो– स्विट्जरल्यान्डको बैंकमा नेपालका प्रधानमन्त्री पत्नी राधिकाको ४१ करोड डलर छ भनेर । सुन्दा रिस उठ्नुपर्ने, त्यो पनि छाड्यो । ४१ करोड डलर ! यस्तो भन्ने मान्छे धर्तीमा एकै खालको हुँदो रहेनछ । फरक–फरक सोचका मान्छे हुन्छन् । त्यसैले अहिले धेरै भन्न छाडेको छु । देश र जनताप्रति निष्ठा र इमान्दार भएर त्यो काममा लागौं ।’
ओलीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैतिर रिफर्म जरुरी रहेको बताए ।