काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । विधेयकका केही प्रावधानप्रति आपत्ति जनाउँदै संगठनले सरोकारवाला निकायसँग छलफलसमेत नगरी सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतमा आघात पार्ने प्रावधान समावेश गरी विधेयक अघि बढाएकोमा भत्र्सना गरेको छ ।
सामाजिक सञ्जाल नियमनका नाममा कैद र जरिवानाको त्रास देखाएर सरकार आफ्नो अक्षमतामाथि आलोचना हुने डरले हदैसम्म असहिष्णु हुन खोजेको संगठनको ठहर छ ।
‘सत्तालाई मन लागेको बेलामा प्रेसका कार्यालयमा प्रहरी पुग्ने बाटो विधेयकमा खुला गरिएको छ । पत्रकारलाई समाचार लेखेबापत जेल पठाउन खोज्ने हर्कत हाम्रो संगठनलाई मान्य छैन । सामाजिक सञ्जाल नियमन गर्ने नभई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक नियन्त्रण गर्ने सरकारी रवैया निन्दनीय छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कुनै पनि कानुन संगठनलाई स्वीकार्य छैन । हामी उक्त विधेयक तत्काल फिर्ता लिन जोडदार माग गर्दछौँ । अन्यथा संगठन आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौँ ।’ संगठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
