काठमाडौं। लामो दूरीका सार्वजनिक यातायातका बसहरूमा विगत नौ महिना यता मात्रै ३८ प्रतिशतले भाडा वृद्धि भएको छ। सार्वजनिक यातायातका उपभोक्ता डिजेल, पेट्रोल लगायत यातायात सञ्चालनका लागि खपत हुने इन्धनको मूल्यमा भएको भारी वृद्धिको प्रत्यक्ष असर खेप्न बाध्य भएका छन्।
यातायात व्यवस्था विभागले गत असार अन्तिम र चैतमा गरी दुई पटक लामो दूरीका सवारी साधनको भाडा दर बढाएको छ। अधिकांश प्रदेश सरकारहरूले छोटो दूरीका सवारीसाधनको भाडा पनि कात्तिक र वैशाखबाट लागु हुने गरी यसबीचमा दुई पटक बढाएका छन्।
काठमाण्डू उपत्यकाभित्र यो नौ महिनाको अवधिमा सार्वजनिक यातायातको न्यूनतम भाडा १५ रुपैयाँबाट बढेर २० रुपैयाँ पुगेको छ।