अमेरिकामा हेलिकप्टर र यात्रुबाहक विमान ठोक्किएर भएको दुर्घटनामा २८ शव भेटिए

वासिङ्टन। अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनामा २८ जनाको शव भेटिएको छ। ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार विमानसँग सेनाको हेलिकप्टर ठोक्किएको हो।

अहिलेसम्म २८ जनाको शव फेला परेको अमेरिकी सञ्चारमाध्यमले प्रहरी अधिकारीलाई उद्धत गर्दै समाचार लेखेका छन्।

बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनापछि ठूलो संख्यामा आकस्मिक बलका सदस्यहरू विमानस्थलमा पुगेका थिए। एक अमेरिकी सैनिक अधिकारीले अमेरिकी समाचार च्यानल सीबीएसलाई बताएअनुसार दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर थियो। हेलिकप्टरमा अमेरिकी सेनाका तीन सैनिक सवार थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा अवस्थाको अनुगमन भइरहेको बताएका छन्। दुर्घटनाग्रस्त विमान पानीमा परेकाले यात्रु सकुशल रहने सम्भावना कम देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us