लक्षित वर्गको ९२ प्रतिशतले लागए कोरोना विरुद्ध खोप

काठमाडौं । २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभएको छ । सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको हो ।

प्रवक्ता अधिकारीले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु गरेपछि चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान शुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको बताउनुभयो ।

सहप्रवक्ता अधिकारीले सरकारले यो बीचमा लगभग ९५ प्रतिशत खोपको पहिलो मात्रा लगाइसकेको बताउनुभयो । त्यस्तै, ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि कोरोनारिुद्धको खोप अभियान जारी रहने र खोपको दायरामा नआएका नागरिकलाई खोपको दायरामा ल्याइ खोप अभियानलाई पूर्णता प्रदान गर्नेतर्फ सरकार केन्द्रित रहेको स्पष्ट पार्नुभयो।

उहाँले विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाविरुद्धको खोप प्रयोग नगरेर खेर फालेको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले हालसम्म सरकारले कोरोनाविरुद्धका खोपहरु खेर नफालेको दाबीसमेत गर्नुभयो ।

सहप्रवक्ता अधिकारीले सरकारले दुःख गरेर पाएको खोपलाई महत्वका साथ कसरी प्रयोग गर्न सकिन्छ भन्ने रणनीति बनाएर खोपलाई यथोचित प्रयोग गरिरहेको पनि बताउनुभयो । उहाँले कोरोनाविरुद्धका केही खोपहरुको मिति सकिन लागेको भन्दै त्यसलाई सकेसम्म प्रयोग गर्ने तरिकाले खोप नपुगेका स्थानमा म्याद सकिन लागेका खोपहरु लगेर खोप अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

नेपालमा रहेका कोरोनाविरुद्धका केही खोपहरुको समय अप्रिल महिनासम्म रहेको भन्दै ती खोपहरुलाई बाँकी दिनमा सक्ने गरेर रणनीति बनाएको उहाँको भनाइ छ। उहाँले कतिपय खोपहरु एकै प्यकमा ६ वा १० वटा आउने भएको र खोलेको ६ घण्टाभित्र सबै प्रयोग गरिसक्नु पर्ने हुन्छ तर खोप लगाउने मानिसहरु नहुँदा १र२ वटा खोप प्रयोग भएपनि प्याकमा बाँकी खोप खेर जानसक्ने सम्भावना रहेको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहभित्र रहेका १ करोड ९९ लाख २२ हजार १ सय ६४ वयस्कमध्ये एक करोड ८७ लाख २२ हजार ९०६ जनाले खोपको एक मात्रा लगाएका छन् भने १ करोड ६५ लाख ६३ हजार ३ सय ७० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

त्यस्तै, लक्षित वर्गभित्र रहेका ३४ लाख २५ हजार ४०८ जना बालबालिका मध्ये ९२ प्रतिशत अर्थात् ३१ लाख ४५ हजार ४ सय ५१ जनाले खोपको एक मात्रा लगाएका छन् भने लक्षित संख्याको ७५ प्रतिशत अर्थात् २५ लाख ८४ हजार ३ सय २६ जनाले खोपको पूर्ण मात्रा लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस बाहे २३ लाख ७४ हजार ११ डोज अतिरिक्त खोप प्रयोगमा आएको र देशभर हालसम्म उपलब्ध ५ करोड ३३ लाख ८१ हजार ५ सय ७० डोज खोपमध्ये ४ करोड ५ लाख ८५ हजार ५ सय ५७ डोज खोप प्रयोग गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us