काठमाडौं । सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा राजु अर्यालको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयले हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
आइतवार बसेको बढुवा सिफारिस समितिको बैठकले अर्याललाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा भएका अर्यालबारे उजुरी गर्नको लागि सात दिनको समय दिइएको छ । सातदिनभित्रमा कहि कतैबाट उजुरी नपरेको खण्डमा सरकारले उहाँलाई एआईजीमा बढुवा गर्नेछ ।
एआईजीमा बढुवा भएसँगै अर्याललाई भावी महानिरीक्षकका लागि बाटो खुलेको छ । गत ३० चैतमा पुष्पराम केसी महानिरीक्षकमा बढुवा हुनुभएको थियो । ३० वर्षे सेवा अवधिका कारण उहाँले यहि १८ वैशाखमा अवकाश पाउँदै हुनुहुन्छ । २०५४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका उहाँ सशस्त्र प्रहरीको स्थापनासँगै त्यतातिर लाग्नुभएको थियो ।
उहाँले अवकाश पाएसँगै अर्यालले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्ने मौका पाउने सम्भावना छ । सशस्त्र प्रहरी बलको नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई मात्र महानिरीक्षकमा बढुवा गर्न सक्ने प्रावधान छ ।