काठमाडौँ । राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई मानव अधिकार तथा शान्ति समाजले ‘प्रतिगामी विधेयक’को संज्ञा दिएको छ ।
बुधबार समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले उक्त विधेयकका केही प्रावधान संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत दुरुपयोग हुन सक्ने खतरा रहेकोले सोको विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
सूचना प्रविधि एवं सामाजिक सञ्जालको आवश्यकता, महत्त्व र उपयोगिता चुलिँदै गएको विश्वव्यापी सन्दर्भमा सोको प्रयोगलाई आम नागरिकको पहुँचमा पुर्याउन र सहज तुल्याउन प्रोत्साहन गर्नुको सट्टा यो विधेयकले निरुत्साहित तुल्याउने खतराप्रति बैठकले गम्भीर चिन्ता समेत व्यक्त गरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
समाजले सरोकारवालाहरूसँग व्यापक परामर्श र सहमति पश्चात् मात्र विधेयक अघि बढाउन आग्रह गरेको छ ।