काठमाडौं । देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको हो । सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू/भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
हाल भैरहवामा सबैभन्दा उच्च अधिकतम तापक्रम रहेको छ । त्यहाँको तापक्रम ४०.४ डिग्री सेल्सियस पुगेको छ । यता नेपालगञ्जको तापक्रम पनि ३९.५ डिग्री सेल्सियस पुगेको छ । धनगढीको तापक्रम ३८.९ डिग्री सेल्सियस पुग्दा जनकपुरको तापक्रम पनि ३८.८ डिग्री सेल्सियस पुगेको छ । गर्मीका कारण ती ठाउँहरुमा तातो हावा अर्थात लु लाग्ने सम्भावना भएकोले दिउँसोको समयमा बाहिर ननिस्कन महाशाखाले अनुरोध गरेको छ ।