काठमाडौं । स्थानीयत तहको निर्वाचनको भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।
उम्मेदवारी मनोनयनको मिति नजिकिंदै गर्दा सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो । आज बस्ने बैठकबाट कम्तिमा महानगर र उपमहानगरपालिकाको भागबण्डा टुंग्याउने संभावना रहेको छ ।
गठबन्धनका नेताहरु सम्मिलित समितिले एक साता अघि नै भागबण्डाको मोडालिटीको आधार प्रस्तुत गरेपनि दलहरुका आ–आफ्नै अडानका कारण सहमति हुन सकेको छैन । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दावी गरेको छ । काठमाडौं, ललितपुर र विराटनगर नेपाली कांग्रेसले लिएर तीन वटा अरु दललाई दिन माओवादीले प्रस्ताव गरेको थियो ।
भरतपुर आफुले, वीरगञ्ज जनता समाजवादी पार्टी र पोखरा एकीकृत समाजवादीले लिनुपर्ने माओवादीको प्रस्ताव छ । ११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्वमा माओवादीको दावी छ । त्यसैगरी एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने बताएको छ ।
महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलका विषयमा थप छलफल गर्न नसकिने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।