
२४ माघ, काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्रमा रहेका १८ लाख प्यालेस्टिनी जनतालाई अन्य अरब राष्ट्रहरूमा स्थानान्तरण गर्ने प्रस्ताव राखेपछि नेकपा (माओवादी) ले यसको कडा विरोध जनाएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत ट्रम्पको यो भनाइ नांगो साम्राज्यवादी तथा विस्तारवादी नीतिको प्रतिफल भएको बताएका छन्।
श्रेष्ठका अनुसार ट्रम्पको प्रस्ताव संयुक्त राष्ट्र संघको घोषणापत्र, सबै मुलुकहरूको सार्वभौमिक समानताको नीति तथा प्यालेस्टाइन मामिलामा पारित प्रस्तावहरूको ठाडो उल्लंघन हो। उनले ट्रम्पको योजना अन्तर्राष्ट्रिय कानुन र मानव सभ्यताको खिल्ली उडाउने खालको भएको भन्दै विश्व समुदायले दृढताका साथ अस्वीकार गर्नुपर्ने बताए।
‘गाजा कब्जा गर्ने अमेरिकी योजना अस्वीकार्य’
बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले गाजालाई नियन्त्रणमा लिई त्यहाँका प्यालेस्टिनी जनतालाई अन्य अरब मुलुकहरूमा स्थानान्तरण गर्नुपर्ने धारणा राखेका थिए। उनले गाजालाई ‘विध्वंशस्थल’ को संज्ञा दिँदै, त्यहाँबाट ‘जिउँदा बमहरू’ हटाई पुनर्निर्माणका लागि अमेरिकालाई सहज बनाउनु पर्ने तर्क गरेका थिए।तर, नेकपा (माओवादी) ले ट्रम्पको यो धारणा मानवीय र कानुनी दृष्टिले नै अक्षम्य भएको बताएको छ। नेता श्रेष्ठले भने, “त्यस क्षेत्रमा कायम रहेको युद्धविरामलाई निरन्तरता दिई संयुक्त राष्ट्रसंघद्वारा पारित दुई सार्वभौम राज्यको नीतिलाई व्यवहारमा लागू गरेर मात्रै त्यहाँको द्वन्द्व समाधान हुन सक्छ। सार्वभौमसत्तासम्पन्न प्यालेस्टाइनको स्थापना नै दीर्घकालीन समाधान हो।”
नेपाल सरकारलाई स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह
नेकपा (माओवादी) ले नेपाल सरकारलाई तत्काल स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीति अनुरूप यस विषयमा आफ्नो स्पष्ट दृष्टिकोण, नीति र धारणा सार्वजनिक गर्न आह्वान गरेको छ। पार्टीले अमेरिकाको प्रस्तावको घोर भर्त्सना गर्दै सबै राष्ट्रहरूलाई समेत यसको विरोधमा उभिन आह्वान गरेको छ।