काठमाडौं। पाँचथरको फिदिममा घर निर्माण गर्न शिलान्यास गर्ने क्रममा माथिबाट झरेको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु हुनुको साथै एक जना घाइते भएका छन् ।
घटनामा पूर्व शिक्षक गोपाल प्रकाश ढुंगानाको मृत्यु भएको हो । ढुंगानालाई मदन पन्थाक परिवारले शिलान्यासका क्रममा पुजारीको रुपमा बोलाएको थियो । पहिरोले पुर्दा १० वर्षीया क्याट्रिना पन्थाक घाइते भएकी छन् । घाइतेलाई उपचारका लागि फिदिमस्थित समर्पित अस्पतालमा भर्ना गरिएको छ ।
आज (सोमबार) बिहान साढे आठ बजे छिमेकी पन्थाकको घर सम्याइएको घडेरीमा घर निर्माणका लागि शिलान्यास गर्ने क्रममा अर्का छिमेकी लेखनाथ खतिवडाको सेप्टिक ट्यांकी फुटेर पहिरोको रुप लिँदै आएको ढुंगा र माटोले ढुंगानालाई पुरेको थियो । एक्सकाभेटर प्रयोग गरेर ढुंगानालाई बाहिर निकालिए पनि उनको त्यसअघि नै ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।