काठमाडौँ। धादिङमा माइक्रो बस दुर्घटना भएको छ । शनिबार बिहान ८ बजेतिर नारायणघाटबाट काठमाडौं आउँदै गरेको बा २ ख ७६३६ नम्बरको माइक्रो धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारास्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा पाँचजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइते हुनेमा भरतपुर महानगरपालिका–९ का ४३ वर्षीय प्रकाश अधिकारी, वडा नम्बर ७ का ५० वर्षीय मनबहादुर पुन, वडा नम्बर ८ की २५ वर्षीया स्वस्तिका पौडेल, २३ वर्षीया अञ्जली रिजाल र वडा नम्बर ५ का ५० वर्षीय सुदर्शन थापा छन् । उनीहरूको प्रशान्त फार्मेसी चौकीटारमा उपचार भइरहेको छ।
माइक्रो र चालकलाई प्रहरी चौकी जोगीमाराले नियन्त्रणमा लिएको छ । माइक्रो अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । उक्त माइक्रोमा १४ जना यात्रु सवार थिए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।