विराटनगर। नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई अधोगतितर्फ लगिरहेको बताउनु भएको छ।
विराटनगरमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कांग्रेस एमाले दुई ठूला दल मिलेर बनेको सरकारले देश अधोगतितर्फ लगिरहेको बताउनुभएको हो । ‘मुलुक बडो गहिरो संकटतर्फ धसिदै गइरहेको छ, दुई पार्टीको अधिनायकवादले मुलुकलाई अग्रगतितर्फ होइन अधोगतितर्फ लाँदैछ,’ उहाँले भन्नुभयो , ‘लोकतान्त्रिक मूल्य मान्यतामाथि चुनौती दिने खालको स्थिति देखा पर्दैछ।’
राजनीति संकटग्रस्त बनिरहेको बताउँदै उनले समग्र अवस्था कमजार हुँदै गएको बताउनुभयो। दुई दलको सरकार बनेपछि भ्रष्टाचारीले उन्मुक्ति पाइरहेको उहाँको भनाई छ। वर्तमान संविधान पूर्णरुपमा कार्यान्वयन भइनसकेको बताउँदै उहाँले अहिलेको अवस्थामा संविधान संशोधन आवश्यक नरहेको पनि बताउनुभयो।