नेपाल-भारत सिमानाका झुलाघाटमा सडक निर्माण हुँदै

काठमाडौं । झुलाघाट नाका भारतसँग जोडिएको पुरानो नाका हो । यो नाकाबाट बैतडीलगायत सुदूरपश्चिम र कर्णालीका सर्वसाधारणहरू नेपाल-भारत आवतजावत गर्ने गर्छन् ।

मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दुका रूपमा समेत रहेको झुलाघाट सडक चौडा पार्ने काम भइरहेको छ ।

साँघुरो सडकमा दुर्घटना बढ्न थालेपछि सडकलाई चौडा पार्ने काम थालिएको सडक डिभिजन कार्यालय पाटन, बैतडीले जनाएको छ ।

नेपाल-भारत सीमा क्षेत्र रहेको दशरथचन्द नगरपालिका-८ को झुलाघाटमा पटक पटक दुर्घटना हुन थालेपछि २५० मिटर सडकखण्ड चौडा पार्ने कार्य भइरहेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका सूचना अधिकारी लीलाधर भट्टले जानकारी दिए ।

उनका अनुसार भारतबाट मजदुरी गरेर फर्कने बेला गत भदौमा यही सडकबाट चिप्लेर बैतडीको पुर्चौंडी नगरपालिकाका एक मजुदुरको महाकाली नदीमा खसेर मृत्यु भएको थियो । यस्तै, केही वर्षअघि यही सडकबाट बोलेरो जीप महाकालीमा खसेको थियो ।

सीमासँग जोडिएको सडक साँघुरो हुँदा बेला-बेला दुर्घटना हुन थालेपछि सडकलाई स्तरोन्नति गर्ने कार्य भइरहेको सूचना अधिकारी भट्टले बताए ।

उनले भने, ‘सीमा क्षेत्रमा वर्षौंपिच्छे दुर्घटना बढ्ने थाले । सडक साँघुरो भयो । बेला-बेला दुर्घटना हुने समस्या भएपछि झुलाघाटको यातायात बिसौनीदेखि पिपल चौतारासम्म २५० मिटर सडकलाई ७ मिटर चौडा पार्ने काम भइरहेको छ ।’

यसैगरी, सूचना अधिकारी भट्टले एक ठाउँमा घरधनीले मुआब्जा मागेका कारण ७ मिटर चौडा हुन सकेको छैन् । बाँकी सबै ठाउँमा चौडा पारी यो वर्ष ५० मिटर जति ढलान गर्ने योजना रहेको उनकाे भनाइ छ ।

यस्तै, ५० मिटर खण्डमा नाली समेत निर्माण गरिनेछ भने बजार नजिकै प्याराफिट निर्माण गर्ने योजना रहेको छ ।

जय माँ भगवती निर्माण सेवाले ६५ लाखको लागतमा ठेक्का प्रक्रियाद्वारा सडक चौडा पार्ने कार्य गरिरहेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीले बताए । उक्त खण्ड स्तरोन्नतिका लागि १ करोडको ठेक्का आह्वान भएपनि ६५ लाख रुपैयाँमा ठेक्का सदर भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us