काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । परीक्षणका लागि पहिलो चरणमा तीन बस ल्याइएकामा प्राविधिक परीक्षण गरिने र त्यसपछि थप बस ल्याउने गरी तयारी भएको हो।
केही दिन पहिले ल्याइएको तीन बसको पहिले साझा आफैले परीक्षण गर्ने सञ्चालक समिति सदस्य भुषण तुलाधरले बताउनुभयो । उहाँका अनुसार यातायात व्यवस्था विभागले पनि सञ्चालन पहिले गर्नुपर्ने आवश्यक परीक्षण गर्नेछ ।
सरकारले कहाँ र कहिले रुट दिन्छ त्यसैका आधारमा बस सञ्चालन गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले परीक्षणकै लागि नै सञ्चालन गरिनेछ ।”
साझाले हाल सञ्चालन गरिरहेका ठूला बसभन्दा विद्युतीय बस थोरै सानो रहेको कम्पनीले जनाएको छ । यो बसमा २६ सिट रहेको छ र क्षमता १६१ किलोवाट रहेको छ । अहिले बससँगै दुई चार्ज आएको छ । बस एकपटक पूरै चार्ज गर्दा २०० किलोमिटर चल्नसक्ने सञ्चालक समिति सदस्य तुलाधरले बताउनुभयो ।
दिनभर बस गुडाएर राति चार्ज गर्न सकिन्छ । उहाँले भन्नुभयो, “राति तीन चार घण्टा चार्ज गरेपछि अर्को दिन बिहानदेखि साँझसम्म चलाउन सकिन्छ ।” अरु सामान्य बसभन्दा अहिले ल्याइएको विद्युतीय बस होचो र सानो छ । बसको लम्बाइ साढे आठ मिटर रहेको छ । यो बस अपाङ्तामैत्रीसमेत रहेको उहाँले बताउनुभयो । होचो (लो फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि स्थान रहेको छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तब्यका बारेमा जानकारी र अरु सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ। उहाँले भन्नुभयो, “अरु बसभन्दा यी बस यात्रुका लागि बढी आरामदायी रहेका छन् ।”
पेट्रोलियम पदार्थका सवारीसाधन जस्तो वातावरण प्रदूषण नगर्ने बसमा ध्वनिको प्रदूषण पनि अरुमा भन्दा कम रहेको छ। पेट्रोलियम पदार्थबाट चल्ने बसभन्दा विद्युतीय बसका लागि राम्रो सडक आवश्यक भएकाले उपत्यकाका सबै स्थानमा चलाउन नसकिने हुनसक्ने साझाको अनुमान छ । अहिले उपत्यकाका खाल्डा भएका सबै सडकमा गुडाउन नसकिने हुनसक्ने सञ्चालक सदस्य तुलाधरले बताउनुभयो । सडक पूरै बिग्रिएमा चलाउन नसकिने भए पनि सानो खाल्डोले फरक नपर्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको थियो । उहाँले भन्नुभयो, “अहिलेका लागि दक्षिणकाली जाने सडकमा गुडाउन सकिँदैन । लगनखेल–चक्रपथ वा भक्तपुरको सडकमा चलाउन सकिनेछ ।”
अहिले तीन बस सञ्चालन गरेर परीक्षण भइरहँदा उता थप बसको पनि निर्माण अघि बढिरहेको छ । सबै ४० वटै बस चाररपाँच महिनामा आइसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बसमा कुनैकुनै कुरामा आवश्यक हुँदा परिवर्तन भए पनि ठूलो परिवर्तन हुँदैन ।”
संस्थाले गत असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सो सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । सम्झौताअनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली छ करोड ७३ लाख ६५ हजार ५५३ प्रदान गर्नेछ ।
देशमा विद्युत् उत्पादन बढिरहेकाले पनि विद्युतीय सवारी साधनलाई बढुवा दिने सरकारले योजना बनाएको छ । विद्युतीय बसलाई लक्षित गरेर प्राधिकरणले विभिन्न स्थानमा चार्जिङ स्टेशन स्थापना गरिरहेको छ । सङ्घले मात्रै होइन प्रदेश सरकार र स्थानीय तहले पनि विद्युतीय बस खरिद गर्दै जाने योजना बनाइरहेका छन् । तीन वर्ष पहिले नै वाग्मती सरकार, काठमाडौँ र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए ।